जनकपुरधामलाई ‘जीवित सांस्कृतिक शहर’का रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

जनकपुरधाम, २२ मंसिर । जनकपुरधामलाई समग्र रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् ।
युनेस्को तथा कोरियन फण्ड्स–इन–ट्रस्ट परियोजनाद्वारा सञ्चालित जनकपुरधाम सांस्कृतिक सम्पदा व्यवस्थापन रूपरेखा तयारीका लागि यहाँ आयोजित दुईदिने सरोकारवाला परामर्श कार्यशालामा सहभागीहरूले यस्तो माग गरेका हुन् ।
कार्यशालामा विभिन्न सरकारी निकाय, संघसंस्था, स्थानीय विशेषज्ञ, धार्मिक अगुवा, संस्कृतिविद् र समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सहभागीहरूले प्रस्तुत गरेका परामर्श र सुझावहरूमा एकमत देखिएको प्रमुख विषय भनेकै राम मन्दिर र जानकी मन्दिरलाई मात्र विश्व सम्पदा सूचीमा राखेर जनकपुरधामको सांस्कृतिक सम्पदाको वास्तविक स्वरूप समेटिँदैन भन्ने हो ।
कार्यशालाका सहभागीहरूका अनुसार जनकपुरधाममा रहेको सांस्कृतिक धरोहरको दायरामा मूर्त र अमूर्त दुवै सम्पदाहरू व्यापक रूपमा समावेश छन् । यसमा विभिन्न मन्दिर कुट्टी, पवित्र सरोवर, मणिमण्डप, रंगभूमि, परिक्रमा पथ, विवाहपञ्चमी र अन्य परम्परागत पर्व उत्सवहरू, मिथिला चित्रकला, मैथिली भाषा,साहित्य, सङ्गीत, गीत संग्राम, पर्व त्योहार, स्थानीय भोजन संस्कारदेखि दैनिक जीवनशैलीसम्म पर्छन् ।
सहभागीहरूका अनुसार यी सम्पदाहरू एक अर्कामा गाँसिएका प्रस्तरहरू हुन् । यसले मिलेर जनकपुरधामलाई जीवित सांस्कृतिक शहर बनाएको छ । ‘केवल दुई मन्दिरलाई विश्व सम्पदा सूचीकृत गर्दा जनकपुरधामको विशाल सांस्कृतिक विरासतको आधा मात्र संरक्षण हुन्छ,’ सहभागीहरूले जोड दिए ।
परामर्श सत्रमा सरोकारवालाहरूले जनकपुरधामका सम्पदाहरू जोगाउन समन्वित, दीर्घकालीन र स्थानीय समुदायलाई अग्रभूमिमा राख्ने प्रबन्धन मोडेल आवश्यक रहेको सुझाव पनि दिए ।
सांस्कृतिक क्षेत्र संरक्षण, परिक्रमा मार्ग व्यवस्थापन, धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय कलाकार र समुदायका भूमिकालाई संस्थागत गर्दै आधुनिक शहरी विकाससँग सन्तुलन मिलाउनुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण थियो ।
कार्यशाला युनेस्को र कोरियन फण्ड्स–इन–ट्रस्ट परियोजनाद्वारा तयार गरिँदै गरेको जनकपुरधाम सांस्कृतिक सम्पदा व्यवस्थापन रूपरेखा निर्माणको प्रारम्भिक चरणका गतिविधिमध्ये एक हो ।
युनेस्कोका प्रतिनिधिहरूले सहभागीहरूको सुझाव र अभिमतहरू रूपरेखामा समेटिने बताएका थिए । स्थानीय निकायका प्रतिनिधिहरूले समेत जनकपुरधामलाई सांस्कृतिक सम्पदाको सुव्यवस्थित संरक्षण र व्यवस्थापनमार्फत विश्व सम्पदा सूचीमा अघि बढाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

