जनकपुरधाम, २२ मंसिर । मधेश प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री महेशप्रसाद यादवले सोमबार औपचारिक रूपमा अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै विगतका अपूरा विकास योजनाहरूलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहने बताएका छन् ।

पदभार ग्रहण समारोहमा मन्त्री यादवले आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेट संरचनामा मधेशको आवश्यकता र जनअपेक्षाअनुसार महत्वपूर्ण परिवर्तन आउने बताएका छन् ।

मन्त्री यादवले अधुरै छाडिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजनाले प्रदेशको समग्र प्रगति ढिलाइ गरेको भन्दै ती योजनालाई सरकारको शीर्ष प्राथमिकतामा राखेर अघि बढाइने बताए । ‘सरकारले अबका दिनमा योजनालाई घोषणा मात्र गरेर छाड्ने होइन, पूर्णता दिने दिशामा परिणाममुखी काम गर्न प्रतिबद्ध छ,’ उनले भने ।

उनले मधेश प्रदेशलाई कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा देशको हबका रूपमा विकास गर्न विशेष नीति र बजेट विनियोजनमार्फत अघि बढिने जानकारी दिए । कृषि उत्पादनमा आत्मनिर्भरता, आधुनिक शैक्षिक पूर्वाधार विस्तार तथा प्रभावकारी स्वास्थ्य सेवा पहुँच विस्तारलाई मुख्य कार्ययोजना बनाइएको मन्त्री यादवको भनाइ छ ।

मन्त्री यादवले अबको अर्थ मन्त्रालय सञ्चालन परिणाममा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । उनले मधेशको समृद्धि नै नेपालको समृद्धिको आधार भएको उल्लेख गर्दै मधेश समृद्ध नभएसम्म देश बलियो हुनै नसक्ने दाबीसमेत गरे ।

पदभार ग्रहणसँगै मन्त्री यादवले मन्त्रालयका उच्च अधिकारीहरूसँग बैठकसमेत गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता, बजेट निर्माण प्रक्रिया र तत्काल कार्यान्वयनमा लैजानुपर्ने कार्यक्रमबारे निर्देशन दिएका छन् । मधेश सरकारको नेतृत्वमा आर्थिक सुधार, सुशासन र पारदर्शितासहितको वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य पनि मन्त्री यादवले अघि सारेका छन् ।