नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुँदै

जनकपुरधाम, २२ मंसिर । नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पुस ४ गतेदेखि ७ गतेसम्म जनकपुरधाममा हुने भएको छ ।
जनकपुर जेसिजको आयोजनामा हुने चारदिने महाधिवेशनमा देशभरका जेसिज शाखाबाट करिब ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
समारोहको पहिलो दिन भव्य उद्घाटन कार्यक्रम रहनेछ भने बाँकी तीन दिन ओरेटरी प्रतियोगिता, थिम सेमिनार, राष्ट्रिय एसेम्बली तथा नेपाल जेसिजले तय गरेका विविध सत्रहरू सञ्चालन गरिने जनकपुर जेसिजले जनाएको छ । एसेम्बलीमार्फत नै सन् २०२६ का लागि नयाँ कार्यसमिति चयन गर्न मतदान प्रक्रिया सञ्चालन गरिनेछ ।
जनकपुर जेसिजका पूर्वअध्यक्ष सुधिर पजियारका अनुसार सम्मेलनमा करिब ३ करोडभन्दा बढी खर्च हुने अनुमान छ । सोमध्ये १ करोड २० लाख रुपैयाँ दर्ता शुल्क (रजिस्ट्रेशन) मार्फत जुटाइने बताइएको छ भने बाँकी खर्च प्रायोजकका माध्यमबाट व्यवस्थापन गरिने योजना छ ।
जेसिज इतिहासमै महत्त्वपूर्ण मानिएको यो सम्मेलनले जनकपुरधामको पर्यटन, संस्कृति तथा व्यावसायिक क्षेत्रलाई पनि सकारात्मक प्रभाव पार्ने जनकपुर जेसिजको विश्वास छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

