जनकपुरधाम, २१ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ प्रगतिनगरमा रहेको गुठीको जग्गा कब्जा गरेको व्यक्तिलाई मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएको छ ।

मुजेलियास्थित गुठीको ६ कठ्ठा ५ धुर ३ कनमा बहुमूल्य जग्गा कब्जा गरेर स्थायी संरचना निर्माण गरेका नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य जंगीलाल यादवलाई आइतबार विस्तार गरिएको मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्री नियुक्त गरिएको हो ।

उनकै संलग्नतामा रहेको विवादित जग्गामा उनका छोरा डा. अमितकुमार यादवले स्थायी संरचना निर्माण गरेका छन् ।

स्थानीयका अनुसार लाखौँ मूल्य पर्ने जग्गालाई माटोले पुरेर निर्माणयोग्य बनाउने कार्य लामो समयदेखि द्रुत गतिमा भइरहेको थियो । केही महिनाअघि उक्त मुद्दाले कैयौं पटक जनकपुरधाममा विवाद सिर्जना पनि गरिसकेको थियो ।

स्थानीयले मन्दिरको नाममा रहेको सार्वजनिक जग्गामा प्रदेश सभा सदस्य यादवका छोरा डा. अमित यादवले बलजफ्ती पर्खाल निर्माण गर्दै शक्तिको आडमा गलत कार्य गरिरहेको आरोप लगाउँदै २०८१ चैत १७ गते प्रमुख जिल्ला अधिकारी रामु राज कडरियासमक्ष ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

विवादको शुरुवात चैत १५ गते बिहान भएको थियो । वडा नम्बर–१४ का स्थानीयले मन्दिरको सार्वजनिक जग्गामा घेराबेर गर्दै गरेको देखेपछि घेराबार रोकी कामदारलाई तत्काल हट्न भनेका थिए । तर, कामदारहरूले उक्त जग्गा सांसद जंगिलाल राय यादवको भएको दाबी गरेपछि स्थिति तनावग्रस्त बन्यो । स्थानीयले सार्वजनिक जग्गामा कुनै निर्माण हुन नदिने चेतावनी दिएपछि सांसद यादवले सो जग्गा आफ्नो भएको दाबी गरेका थिए ।

स्थानीयले मन्दिरको सार्वजनिक जग्गा स्थानीय बासिन्दाहरूको साझा सम्पत्ति भएको र कुनै विवादबिना भोगचलन गर्दै आएको बताएका थिए । उनीहरूले सांसद यादवमाथि सार्वजनिक सम्पत्तिमा अनाधिकृत रूपमा पर्खाल निर्माण गरिरहेको र आफूहरूले विरोध गर्दा धम्की दिइएको आरोप लगाएका थिए । सांसद यादव र पूजारीले एकअर्काको मिलोमतोमा यो कार्य गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग राख्दै स्थानीयले प्रहरीमा लिखित पनि उजुरी दिएका थिए ।

जनकपुरधाम–१४ का स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा सोभित साह, विन्देश्वर यादव, महेन्द्र यादव, जागेश्वर यादव, राम सरोज यादव, ललिता यादव, जनकपुरधाम–१४ का पूर्व वडासदस्य उपेन्द्र कुमार साह, सरोज कुमार साह, विवेक कुमार यादव, राम शंकर साह, कैलाश झा, जोगी यादव, कपिलदेव महासेठ, बसन्त कुमार साह, दिपक पटेल, विशाल कुमार राय, राम कुमार चौधरी, देव महरा, राम उदित महतो, मनिर राइनलगायतका व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारीलाई संयूक्त ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यसअघि, स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन दिएका थिए ।

जनकपुरधाम–८ स्थित विजय राघव कुञ्जका पुजारी रामसागर दासले मन्दिरको नाममा रहेको जग्गालाई मनखप (वार्षिक धान बुझाउने शर्त) मार्फत सांसद यादवका छोरा अमितलाई बिक्री गरेको करारनामा बाहिर आएको थियो ।

कागजात अनुसार ४ कठ्ठा १ धुर जमीन वार्षिक ४० किलो धान मनखपमा र २ कठ्ठा ४ धुर जमीन अन्य व्यक्तिलाई सिधै हस्तान्तरण गरिएको छ । पुजारी दास स्वयंले पनि सो जग्गा २२ लाख रुपैयाँमा बेचेको स्वीकार गरिसकेका छन् । स्थानीयका अनुसार त्यही जग्गाको हालको प्रतिकठ्ठा मूल्य कम्तीमा २ करोड रुपैयाँ पर्छ ।

दासले मन्दिरका अन्य २४ कठ्ठा जमीन यस्तै मनखप कागजमार्फत बिक्री गरिसकेको बताउँछन् । धनुषा, महोत्तरी, सिरहा, सर्लाही र भारतसम्मका मन्दिर जग्गा उनी यसै शैलीमा व्यापार गर्दै आएका छन् ।

धार्मिक संस्थानसम्बद्ध जग्गा व्यक्तिगत सम्पत्तिको रूपमा बेच्नु कानुनसम्मत नठहरे पनि दासले आफूले गरिरहेको क्रियाकलापलाई निजी अधिकारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

दासले भने, ‘जनकपुरका धेरै मठमन्दिरका महन्थ र पुजारीहरूले मनखपमा जमीन बिक्री गर्दै आएका छन् । म पनि यही परम्परा अनुसार बिक्री गरेको हुँ । कोही घर बनाओस्, विद्यालय बनाओस्, अस्पताल बनाओस् । मलाई केही मतलब छैन ।’

स्थानीय दीपक पटेलका अनुसार यादवले गुण्डाको संरक्षणमा रातारात माटो भर्ने तथा निर्माण कार्य अघि बढाएका थिए । यसै विषयमा स्थानीयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका थिए । तर, हालसम्म कुनै अनुसन्धान अगाडि नबढेको स्थानीयको आरोप छ ।

सांसद यादवका छोरा अमित भने आफूले जग्गा लीजमा लिएर २०७३ सालमै नक्सा पास गराएको दाबी गर्छन् । उनले सबै निर्माण कार्य कानुनी प्रक्रिया अनुसार भएको बताएका छन् ।

जनकपुरधाममा मठमन्दिर तथा गुठीका जग्गा कब्जा, मनखप वा मोहियानी बहानामा बिक्री हस्तान्तरण हुने क्रम दशकयौँदेखि रोकिएन । राजनीतिक पहुँचवालाहरू, कर्मचारी, व्यापारी तथा स्थानीय शक्तिशाली समूहहरूको संलग्नतामा यस्ता घटनाले धार्मिक सांस्कृतिक पहिचानमा गम्भीर संकट निम्त्याउँदै आएको स्थानीय इतिहासकारहरू बताउँछन् ।

यसअघिपनि कैयौँ सांसद, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरू मठमन्दिरका जग्गा कब्जा मुद्दामा परेकै थिए । तर, प्रभावशाली व्यक्तिहरू संलग्न हुँदा कुनै पनि कारबाहीको उदाहरण नदेखिनुले यस्तो प्रवृत्ति मौलाइरहेको चिन्ता स्थानीयको छ ।

जनकपुरधाम मिथिला सभ्यताको केन्द्र तथा धार्मिक पर्यटनको मुख्य राजधानीका रूपमा चिनिन्छ । यस्तै संवेदनशील क्षेत्रका गुठी तथा धार्मिक जग्गा व्यवस्थित संरक्षण गर्नुपर्ने जिम्मेवारी मठमन्दिर व्यवस्थापन समिति, गुठी संस्थान, नगरपालिका र प्रदेश सरकारकै हो ।

तर, वर्तमान अवस्थामा सरकारी निकाय मौन हुनु, गुठी संस्थान निरीह बन्नु, स्थानीय प्रशासन अनुत्तरदायी हुनु र राजनीतिक नेतृत्व नै संलग्न भएको आरोप सर्वत्र छ ।

गुठीको जग्गा कब्जा राजनीतिक संरक्षणमा भइरहेकाले जनकपुरधामको सम्पदा भविष्यमा कागजमै मात्र सीमित हुने खतरा छ ।

जनकपुरधामका धार्मिक सम्पदा संकट, अवैध मनखप बिक्री, मठमन्दिरका पुजारी, महन्थ र राजनीतिक नेताहरूको गठजोड तथा सरकारी निकायको मौनताले समस्या अब अत्यन्त जटिल बनेको छ ।