जनकपुरधाम, २१ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्वका कारण राष्ट्रिय पहिचानको केन्द्रबिन्दू बनेको जनकपुरधामस्थित जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास सक्रिय बनेको छ ।

सोही तयारीका लागि निरीक्षण तथा मूल्यांकनमा आएको युनेस्कोको अध्ययन टोली र जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासबीच आइतबार भेटघाट तथा छलफल भएको छ ।

भेटमा युनेस्को टोलीले मन्दिरको धार्मिक महत्व, वास्तुशिल्पीय मौलिकता, संरक्षणको अवस्था तथा भविष्यमुखी योजना सम्बन्धमा विस्तृत जानकारी लिएको जनाइएको छ ।

टोलीले सम्पदाको दीगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली र सरसफाइदेखि पर्यटक व्यवस्थासम्मका विषयमा प्रत्यक्ष अवलोकनसमेत गरेको छ ।

सहायक महन्थ दासले युनेस्को टोलीसँगको छलफललाई अत्यन्त महत्वपूर्ण माइलस्टोनको रूपमा उल्लेख गर्दै भने, ‘जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभइ मिथिला संस्कृतिको जीवित सभ्यता हो । यसको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक छ । हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध छौं ।’

उनका अनुसार मन्दिर क्षेत्रमा व्यवस्थापन सुधार, संरचनागत संरक्षण, पर्यटक प्रवाह व्यवस्थापन र सांस्कृतिक सम्पदाको दिगोपनालाई ध्यानमा राखेर मन्दिर व्यवस्थापन समितिले हालै विभिन्न योजना अघि सारेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि र मिथिला सांस्कृतिक पहिचान विश्वभर थप प्रबल हुने उनको विश्वास छ ।

युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना तथा भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने बताइएको छ ।