काठमाडौं, २१ मंसिर । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन् ।

जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइ माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले आन्दोलनलाई कमजोर पार्ने प्रयास सह्य नहुने चेतावनी दिए ।

ढुङ्गानाले निर्वाचनपछिको सरकारबाट देश विकासका लागि ठोस कार्यप्रगति हुने अपेक्षा आफूहरूले नगरेको उल्लेख गर्दै पुराना दलका नेताहरू पुनः सत्तामा फर्कने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

अन्तरिम सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्री कार्कीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरे ।

‘अन्तरिम सरकार हाइज्याक भएको छ, जेनजी युवाहरूका मागहरू बेवास्ता गरिएको छ,’ ढुङ्गानाले भने । भदौ २३ गतेको घटनाको छानबिन उपेक्षा गरेर २४ गतेको प्रदर्शनमा सहभागी भएका युवामाथि मात्र प्रहरीले कारबाही गरेको दाबी गर्दै उनले निष्पक्ष छानबिनको आवश्यकता औंल्याए ।

जेनजी अभियन्ताहरूले पक्राउ परेका युवाको रिहाइ र आन्दोलनका माग सम्बोधन नगरे सरकारविरुद्ध थप कदम चालिने चेतावनी दिएका छन् ।