पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला: पूर्व अर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अस्वाभाविक रूपमा लागत वृद्धि गराई राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने तयारी गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको एक आयुक्तले जानकारी दिए ।
सोही निर्णयअनुसार आइतबार विशेष अदालतमा मुद्दा दर्ता हुने तयारी पूरा भएको छ । अनुसन्धान अधिकृतहरूको टोली मुद्दा दायरका लागि विशेष अदालत पुगिसकेको स्रोतले पुष्टि गरेको छ ।
मुद्दा दायर हुन लागेको प्रतिवादीको सूचीमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर तथा हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत ५५ जना रहेका छन् ।
प्रदीप अधिकारीविरुद्ध अख्तियारले भक्तपुर नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा पहिले नै अलग मुद्दा दायर गरेको थियो । उनी हाल अख्तियारको हिरासतमा छन् ।
अख्तियारले विमानस्थल निर्माणका विभिन्न चरणमा गरिएको लागत वृद्धि, ठेक्का प्रक्रिया र प्राविधिक मूल्यांकनमा गम्भीर अनियमितता भएको दाबी गर्दै सम्बन्धित अधिकारीलाई कानुनी प्रक्रियामा ल्याउने तयारी तीव्र पारेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

