जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ सरकारको संरचना स्पष्ट गरेका छन् ।

आइतबार उनले कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्रिपरिषद्मा समावेश गर्दै तीन सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई भने हाललाई विना विभागीय मन्त्रीका रूपमा सरकारले समेटेको छ । गठबन्धनबीचको अन्तिम सहमति अनुसार आगामी दिनहरूमा मन्त्रालयहरूको छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँड गरिने बताइएको छ ।

नवनियुक्त तीनै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश प्रमुखको कार्यालयमा गराएका थिए ।

मधेशमा सत्ता परिवर्तन भएसँगै बनेको यो नयाँ टिमले प्रदेश सरकारलाई सञ्चालन गर्ने प्रारम्भिक संरचना तयार पारेको छ । गठबन्धनभित्र सहकार्य र शक्ति सन्तुलन जोगाउँदै प्रदेश सरकारलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ ।