कांग्रेसको नेतृत्वमा मधेशको नयाँ सरकार, मुख्यमन्त्री यादवले मैथिलीमा लिए शपथ

जनकपुरधाम, २१ मंसिर । मधेश प्रदेशमा राजनीतिक उथलपुथल र कानुनी विवादले चर्किएको सत्ता समीकरण अन्ततः नयाँ मोडमा पुगेको छ । सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव आइतबार औपचारिक रूपमा मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश सरकारको नेतृत्व सम्हाल्न उनीमाथि जिम्मा तोक्दै मैथिली भाषामै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहित मधेश प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, दलका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो ।
कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र (तत्कालीन), लोसपा र एकीकृत समाजवादी (तत्कालीन) का सांसदहरूको समर्थनमा गठन भएको नयाँ सरकारले मधेशमा सत्ताको नयाँ अध्याय सुरु गरेको छ ।
मंसिर १७ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मधेश प्रदेशमा सत्ता रिक्तता देखिएको थियो ।संविधानको धारा १६८(३) बमोजिम ठूलो दलका हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भए पनि सातदलीय गठबन्धनले उक्त नियुक्तिलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो । तर, आवश्यक समर्थन जुटाउन असफल भएपछि उनले प्रदेश सभामा नै राजीनामा घोषणा गरे । त्यसपछि धारा १६८(२) को प्रणालीअनुसार बहुमत प्राप्त गर्न सक्षम गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद यादवलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको हो ।
मुख्यमन्त्री यादवले शपथ लिएको केही घण्टामै सानो आकारको मन्त्रिपरिषद्समेत घोषणा गरेका छन् । तत्कालका लागि गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डाबारे सहमति बनाइएको बताइएको छ ।
मुख्यमन्त्री यादव यही मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन् । सातदलीय गठबन्धनका नेताहरूले नयाँ सरकार स्थिर र प्रभावकारी बन्नुपर्नेमा जोड दिएका छन् । शपथ ग्रहण समारोहमा उपस्थित नेताहरूले मधेश प्रदेशले विकास, सुशासन र सेवाप्रवाहमा नयाँ गति पाउने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

