जनकपुरधाम, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ राजनीतिक समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्रत्यक्ष प्रभाव पार्ने दाबी गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले वर्षौँदेखि दोहोरिँदै आएको ‘परम्परागत सत्ता मिलाप’ मधेशमा पहिलोपटक भत्किएर नयाँ वैकल्पिक गठबन्धन निर्माण भएको बताए ।

उनका अनुसार मधेशमा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दलहरू र नेपाली कांग्रेसको साझा साथमा बनेको सरकारले पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएको छ ।

‘केही वर्षदेखि चल्दै आएको समीकरण यहाँ भत्कियो, नयाँ समीकरणको जन्म यहीँ भयो,’ प्रचण्डले भने, ‘मधेशबाट सुरु भएको यो सन्देश अब सबै प्रदेशमा प्रतिध्वनित हुनेछ ।’

प्रचण्डले देशभर देखिएको जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई गहिरो आत्मसमिक्षा गर्न बाध्य पारेको बताए । जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको स्वीकार गर्दै उनले युवापुस्ताले उठाएको असन्तुष्टिको स्वर परिवर्तनका लागि अवसर भएको बताए ।

‘जेनजी आन्दोलनले हामीलाई झकझक्यायो, हामीले गलत गरेछौं, परिवर्तन चाहिन्छ,’ प्रचण्डले भने, ‘त्यसैले अब हामी रूपान्तरण र सुधारसहित मुलुकको विकासमा अघि बढ्न बृहत् एकता निर्माण गरिरहेका छौँ ।’

उनले प्रतिगमन र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्न देशभरको जनएकता आवश्यक भएको उल्लेख गरे । ‘सबै जनताको एकताले मात्र मुलुक अगाडि बढ्छ । त्यसको नेतृत्व नेकपाले गर्छ,’ उनको दाबी थियो ।

एमालेभित्रका वामपन्थी, क्रान्तिकारी धारा तथा अन्य कम्युनिस्ट समूहहरूमध्ये समान सोचका सबैलाई ल्याएर एकीकृत पार्टी निर्माण गर्ने अभियान अघि बढिरहेको उनले बताए ।

प्रचण्डले मधेश प्रदेशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास परियोजनाहरू कम्युनिस्ट नेतृत्वकै सरकारबाट सुरु भएको स्मरण गराउँदै ती कामको निष्कर्षमा पनि कम्युनिस्ट नेतृत्वले नै पुर्याउने विश्वास व्यक्त गरे । ‘मधेशका मुख्य योजनाहरू हामीले सुरु गरेका हौँ । पूरा गर्ने जिम्मा पनि हाम्रो नै हो,’ उनले भने ।