जेनजी पुस्ताको भरोसा नेकपामाथि बढ्दो छ : माधवकुमार नेपाल

जनकपुरधाम, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को विश्वास नेकपातर्फ तीव्र रूपमा बढिरहेको दाबी गरेका छन् ।
जनकपुरधाममा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले युवा अभियानकर्मी, विद्यार्थी तथा सामाजिक परिवर्तनका पक्षधर धेरैजसो जेनजी युवा नेकपाको पक्षमा उभिन थालेको बताए ।
उनका अनुसार एसिड आक्रमणकी पीडित तथा युवा अभियन्ता मुस्कान खातुनलगायत थुप्रै जेनजी पुस्ताका युवाहरू नेकपामा भित्रिएको उदाहरणमात्र हुन् । ‘जेनजी पुस्ताको आवाज सुन्ने, उनीहरूको माग पूरा गर्ने क्षमता नेकपामा छ भन्ने विश्वास बन्दै गएको छ,’ सहसंयोजक नेपालले भने ।
नेपालले जेनजी पुस्ताले उठाउने रोजगार, शिक्षा, समान अवसर, सामाजिक न्याय लगायतका मागहरू जायज रहेको उल्लेख गर्दै ती माग पूरा गर्ने राजनीतिक शक्ति नै नेकपा रहेको दाबी गरे । ‘देशलाई समृद्ध बनाउन सबै पुस्ताको एकता आवश्यक छ । युवा पुस्ताको ऊर्जा र विचारलाई स्वीकारेर अघि बढ्नुपर्छ,’ उनले भने ।
सभामा उनले सिरहा र जनकपुरधाम आफ्नो मामाघर भएको स्मरण गर्दै धनुषा र मधेशबारे आफू गहिरो सरोकार राख्ने व्यक्तित्व भएको बताए ।‘मधेशको पीडा बुझ्ने व्यक्तिमध्ये म पनि एक हुँ । नेकपा मधेश मुक्ति र समान अधिकारका लागि संघर्षरत छ,’ उनले भने ।
उनका अनुसार ज्येष्ठ नागरिक, दलित, मुस्लिम, विपन्न तथा अधिकारवञ्चित समुदायका मुद्दा उठाउने पार्टी नै नेकपा हो । उनले जनकपुरधामको पहिचान, सम्मान र विकासका लागि आफूहरूले जिम्मेवारीपूर्वक काम गर्दै आएको दाबी गरे ।
नेपालले कुनै पनि नेपालीले रोजगार खोज्न बाध्य भएर विदेशिनु नपरोस् भन्ने उद्देश्यले कम्युनिस्ट शक्तिहरू एकीकृत भएको बताए । ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानजनक जीवनका लागि नेकपाले अभियान चलाइरहेको छ । यही कारण नेपालीको आकर्षण नेकपातर्फ बढ्दो छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

