जनकपुरधाम, २० मंसिर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वैदेशिक रोजगारीमा रहेका युवा स्वदेश फर्काउन सक्षम र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण अनिवार्य रहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले देशमा बेरोजगारी, भ्रष्टाचार र असमानता बढ्दै गएको अवस्थामा समाजवाद नै एउटै विकल्प भएको दाबी गरे ।

उनका अनुसार देशमा रोजगारीको अवसर नबढ्दा ठूलो संख्यामा नेपाली युवा खाडी मुलुकदेखि विभिन्न देशमा पलायन भइरहेका छन् । ‘१८ देखि ४० वर्ष उमेरका अधिकांश युवा विदेशतिर लागेका छन् । यहाँ पेशा व्यवसाय, रोजगार सिर्जना नहुँदा उनीहरू बाध्य भएर बाहिरिनुपरेको हो,’ उनले भने ।

खानालले वर्तमान राज्य संरचना र नेतृत्वसमेत भ्रष्टाचारको चपेटामा परेको उल्लेख गर्दै यस्तो अवस्थाले देशलाई गम्भीर रूपमा नोक्सान पुर्याइरहेको बताए । ‘देशभर भ्रष्टाचार छ, शिरदेखि तीरसम्मै फैलिएर बसेको छ । भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसेका छन्,’ उनले आरोप लगाए ।

उनका अनुसार भ्रष्टाचारको अन्त्य गर्ने, असमानता घटाउने र जनमुखी राज्य व्यवस्था स्थापना गर्ने माध्यम भनेको समाजवाद नै हो । ‘समाजवादले मात्र भ्रष्टाचार उन्मूलन र जनताको जीवनस्तर सुधार सम्भव बनाउँछ,’ उनका शब्द थिए ।

नेता खनालले विदेशिएका युवालाई स्वदेश फर्काउन योग्य, सक्षम र विश्वसनीय नेतृत्व आवश्यक रहेको उल्लेख गरे । ‘देशमै रोजगारी सिर्जना गर्न, युवालाई अवसर दिन र उनीहरूलाई फर्काउन एउटा ठूलो शक्तिशाली कम्युनिष्ट पार्टी चाहिन्छ,’ उनले भने ।

उनले पार्टी एकताप्रति जोड दिँदै बाम विचार, समाजवाद र राष्ट्रनिर्माणको एजेन्डामा दृढतापूर्वक अघि बढ्ने आवश्यकता औंल्याए । सभामा उनले राजनीतिक एकता, समान अवसर र भ्रष्टाचारविरुद्धको कठोर अभियानमार्फत मात्र देशले स्थायी समाधान खोज्न सक्ने बताए ।