जनकपुरधाम, २० मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले जनताप्रति पुरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पार्टी कार्यकर्ता भेला तथा सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले विगतका कमजोरी स्वीकार गर्दै पार्टीले जनतामुखी सुधार अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार पार्टीले जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन ल्याउन नसक्नु स्वयं पार्टी नेतृत्व र संरचनाका कमजोरीले भएको स्पष्ट देखिन्छ । ‘हामीले जति गर्न सकिन्थ्यो, त्यति गर्न सकेनौं । त्यसैले हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ उनले भने ।

नेता श्रेष्ठले मधेश, पहाड र हिमालबीचको सहकार्य र एकता बलियो नबने देश समृद्ध बन्न नसक्ने जिकिर गरे । उनले मधेशी जनताको अधिकार, विकास र सहभागिता सुनिश्चित नभएसम्म नेपालको राष्ट्रिय एकता र भौगोलिक विकास सुदृढ हुन नसक्ने उल्लेख गरे ।

‘मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न सकेनौं भने न पार्टी निर्माण अघि बढ्छ न देश समृद्ध हुन्छ,’ उनका शब्द थिए ।

श्रेष्ठले काँग्रेस, एमाले तथा मधेशवादी दलहरूले प्रदेशमा प्रभावकारी ढंगले शासन सञ्चालन गर्न नसकेपछि आफूहरूले वैकल्पिक नेतृत्वको रुपमा जिम्मेवारी लिएको बताए । उनले पार्टीको भिजन तथा वैचारिक स्पष्टता मजबूत रहेको दाबी गर्दै भविष्यमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले वर्तमान राजनीतिक परिदृश्यमा केवल पार्टी एकता गरेर मात्र उद्देश्य पूरा नहुने बताउँदै संगठन सुदृढिकरण र आन्तरिक सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता श्रेष्ठले पार्टीभित्र जरा गाड्न खोज्ने भ्रष्टाचार, घुस, कमिशन जस्ता प्रवृत्तिको अन्त्य गर्न ‘शुद्धिकरण अभियान’ सञ्चालन गर्ने समय आएको बताए ।