जनकपुरधाम, २० मंसिर । महोत्तरीको मनरा शिशवा नगरपालिका–१० मा स्थानीय युवाहरूले वडाध्यक्ष अरुण चौधरीमाथि निरन्तर रूपमा बजेट दुरुपयोग, कागजी घप्ला र योजनागत अनियमितता गरेको आरोप लगाएका छन् ।

१० वटै वडामध्ये सबैभन्दा बढी अनियमितता यही वडामा देखिएको दाबी गर्दै स्थानीयले वडा विकासका नाममा करोडौँ खर्चको कागज बनेपनि धरातलमा केही नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मधवा, मरुवाही र सकरी गाउँ समेटिएको वडामा वर्षौँदेखि अत्यावश्यक विकास निर्माण नहुँदा स्थानीय जनतामा गहिरो असन्तुष्टि छ ।
योजनाका शीर्षकमा बारम्बार रकम निकासी हुने तर जनजीवनमा कुनै सुधार नआएको उनीहरूको गुनासो छ ।

स्थानीय युवा रवि चौधरीका अनुसार वडाध्यक्ष चौधरीले वडाको कार्यालय नै आफ्नो निजी घरमा सञ्चालन गरी ‘भाडा’ शीर्षकमा पालिकाबाट आउने रकम आफ्नी आमा र काकाको बैंक खातामा बटुल्ने गरेका छन् ।

‘वडाध्यक्षले महिनौँसम्म घरमै कार्यालय चलाएर भाडा उठाउँदै आएका छन् । त्यो रकम प्रत्यक्ष परिवारकै खातामा गएको प्रमाण हामीसँग छ,’ उनले दाबी गरे ।

त्यसैगरी मधवा निवासी दिलीप मिश्रले युवाहरूका लागि खेलकुद सामग्री वितरण गर्न १ लाख रुपैयाँ बराबरको बजेट निकासी भए पनि अहिलेसम्म सामग्री नदेखिएको बताए ।

‘दिइयो भनिएको सामग्री हामीले कहिले भेटेनौँ । कागजमा मात्र खेलकुद कार्यक्रम देखिन्छ,’ मिश्रको आरोप छ ।

मिश्रले दलित बस्तीमा बाटो निर्माणका लागि तीन छुट्टाछुट्टै शीर्षकमा बजेट निकासा गरिए पनि एक इन्च पनि सडक नबनेको आरोप लगाए । सडक निर्माण कागजमै सीमित रहनु उद्देश्यपूर्ण भ्रष्टाचार भएको उनीहरूले आरोप लगाए ।

युवा रोशन साहले सीसीटिभी जडान नाममा रकम हिनामिना भएको दाबी गर्दै भने, ‘एउटै ठाउँमा मात्र क्यामेरा जडान गरिएको छ । तर, कागजातमा भने दुई दुई स्थानमा स्थापना भएको देखाइएको छ । यहाँ ठगी धेरै स्पष्ट छ ।’

स्थानीय विजय ठाकुरका अनुसार वडाध्यक्षले वडा परिषद् बैठकसमेत मदिरा पसल र होटलमा बसी गर्ने गरेका छन् । ‘जनतालाई जानकारी नदिई निर्णय लिने, कागजमा मात्रै बैठक देखाउने काम सामान्य भइसकेको छ,’ ठाकुरले भने ।

उनको भनाइमा वडाका अधिकांश निर्णय स्थानीय समुदाय, बस्ती प्रतिनिधि वा सरोकारवाला निकायको सहभागिता बिना सीमित व्यक्तिहरूको स्वार्थअनुसार पारित हुने गरेका छन् ।

वडामा निरन्तर बढ्दै गएको अनियमिततापछि स्थानीय युवाहरूले अब विषयलाई कानुनी प्रक्रियामा लैजाने तयारी गरिरहेका छन् । ‘हामी मौन बस्दैनौँ । आवश्यक सबै प्रमाणसहित जिल्ला र प्रदेश स्तरमा उजुरी दिनेछौँ,’ चौधरीले भने ।

योजनागत खर्च कागजमा मात्रै बढेको र कुनै काम देखिन नसक्ने अवस्थाले वडा तथा नगर नेतृत्वसमेत दबाबमा परेको छ । स्थानीयले छानबीनका लागि निरन्तर आवाज उठाइरहँदा वडाध्यक्ष चौधरी भने आरोपबारे कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।