१६ दिने अभियानकै बीच धनुषामा दुई महिलाको शंकास्पद मृत्यु, महिला अधिकारकर्मीको खबरदारी र्याली

जनकपुरधाम, २० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको संवेदनशील समयमै धनुषामा एक साताभित्रै दुई महिलाको शंकास्पद मृत्यु भएपछि महिला मानव अधिकार रक्षकहरू सडकमा उत्रिएका छन् ।
उनीहरूले घटनालाई गम्भीर रूपमा लिएर शनिबार जनकपुरधाममा खबरदारी र्याली आयोजना गर्दै सत्यतथ्य छानबिन र पीडित परिवारलाई न्याय दिलाउन प्रदेश प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
महिला अधिकारकर्मीहरूले प्रदेश प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुवै घटनाको गहिरो अनुसन्धान, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई सुरक्षा र न्यायको सुनिश्चितता माग गरेका छन् ।
धनुषाका विभिन्न स्थानमा एक साताभित्रै दुई महिलाको असामान्य मृत्यु भएको घटना सार्वजनिक भएपछि स्थानीय समुदायबाट पनि गम्भीर चासो व्यक्त भएको छ ।
अधिकारकर्मीहरूका अनुसार दुवै घटनामा प्रहरी अनुसन्धान ढिलो र अस्पष्ट देखिएको छ । ‘१६ दिने अभियानकै बीच महिलाहरू सुरक्षित छैनन् भन्ने गम्भीर सन्देश आएको छ,’ एक मानव अधिकार रक्षकले भने ।
जनकपुरधाममा निकालिएको खबरदारी र्यालीमा सहभागीहरूले ‘महिलामाथि हिंसा बन्द गर’, ‘दोषीलाई त्वरित कारबाही’, ‘सुरक्षा र न्याय हाम्रा अधिकार’ जस्ता प्लेकार्ड बोकेका थिए ।
अधिकारकर्मीहरूले प्रहरी प्रशासन र स्थानीय सरकार दुवैलाई लैङ्गिक हिंसा तथा महिलामाथि हुने अपराधलाई प्राथमिकताका साथ हेर्न आग्रह गरे ।
‘हामी केवल १६ दिनमै नभइ वर्षभरि महिलाको सुरक्षाका लागि लड्दै आएका छौँ । तर, घटनाहरू बढ्दै जानु राज्यको चरम उदासीनता हो,’ एक महिला अधिकारकर्मीले भनिन् ।
र्यालीपछि प्रतिनिधि टोलीले प्रदेश प्रहरी कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझायो । पत्रमा दुवै महिलाको मृत्युको निष्पक्ष र वैज्ञानिक अनुसन्धान हुनु पर्ने, अपराधी पत्ता लगाई छिटो कारबाही गर्नुपर्ने, मृतक परिवारलाई मनोवैज्ञानिक र कानुनी सहयोग प्रदान गर्नुपर्ने, महिलामाथि हिंसा रोक्न स्थानीय तहदेखि प्रदेशस्तरको सुरक्षा संयन्त्र सुदृढ गरिनु पर्ने, जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित आश्रय र संरक्षण गरिनु पर्नेलगायतका मागहरू उल्लेख गरिएको थियो ।
प्रहरी अधिकारीहरूले घटनाको छानबिन तीव्र गतिमा अघि बढाइने र आवश्यक सहयोग प्रदान गरिने आश्वासन दिएको अधिकारकर्मीहरूले बताए ।
लगातार महिलामाथि हुने हिंसा, हत्या र शंकास्पद मृत्युका घटनाले धनुषासँगै मधेश प्रदेशभरै चिंता बढेको छ । समाजसेवी समूह र स्थानीयवासीले घटनालाई ‘समाजको सुरक्षा संरचनामाथिको गम्भीर प्रश्न’ भन्दै जिम्मेवार निकायलाई आफ्नो भूमिका देखाउन आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

