जनकपुरधाम, २० मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले समाजमा जरो गाडेर बसिरहेका थुप्रै धार्मिक परम्परालाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित विमला देवी कर्ण स्मरण तथा स्मृति सभामा बोल्दै पोखरेलले मृत्युसँग सम्बन्धित कर्मकाण्ड, विशेषगरी श्राद्ध भोज जस्ता खर्चिलो र विभेदकारी परम्परालाई हटाउन आवश्यक रहेको स्पष्ट गरे ।

उनका अनुसार विगतका पुस्ताले समाज र परिस्थितिअनुसार परम्परा बनाएका भए पनि आजको वैज्ञानिक र चेतनशील युगमै पनि पुरानै बोझ बोकेर हिंड्न नसकिने परिस्थिती आएको छ । ‘समाज छिटो बदलिँदै छ । मानिसले नै बनाएको परम्परालाई मानिसले नै परिमार्जन गर्नुपर्छ,’ पोखरेलले भने ।

कार्यक्रममा साहित्यकार डा. राजेन्द्र विमलले धार्मिक विश्वास र संस्कार फरक फरक विषय भए पनि मृत्युपछि गरिने १३ दिने काजकिरियाबारे गम्भीर बहस आवश्यक रहेको औँल्याए । ‘मानिस बाँचुञ्जेल सम्मान पाउँदैन । तर, मृत्यु भएपछि खर्चिलो र असहज विधि पूरा गर्न परिवारलाई बाध्य बनाइन्छ । अब यो विषयमा खुला छलफल हुनैपर्छ,’ उनले भने । डा. विमलले घर समाजमा मानिसले बाँचुञ्जेल सम्मान पाउने वातावरण सिर्जना गर्नुपर्नेतर्फ जोड दिए ।

साहित्यकार रमेश रञ्जन झाले समाजमा धार्मिक नियन्त्रण र कर्मकाण्डी प्रवृत्तिले गरिबी र अज्ञानता बढाउने बताए । ‘धर्मका नाममा गरिने आडम्बरले समाजलाई पछि पारिरहेको छ । चेतनाको जागरण नै अबको आवश्यकता हो,’ उनले भने ।

राजनीतिकर्मी रामरिझन यादवले पुरोहित र कर्मकाण्ड केन्द्रित समूहहरूले समाजमा नयाँ नयाँ खेल रचेर अन्धभक्त जन्माइरहेको आरोप लगाए । ‘गरिब र अशिक्षित समुदायलाई झनै डरत्रास देखाएर परम्परामा बाँध्ने काम भइरहेको छ,’ उनले भने ।

कार्यक्रममा मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिकले दिवंगत विमला देवी कर्णको संघर्षपूर्ण जीवनको स्मरण गरे । उनका अनुसार १० वर्षे जनयुद्धका क्रममा पति रोशन जनकपुरी भूमिगत भएका बेला विमलाले परिवारलाई जोगाउँदै कठिन परिस्थिती झेलेकी थिइन् ।

युवा अभियन्ता सुशील कर्णले समाज अझै पनि पुरानै मानसिकतामा बाँधिएको भन्दै नयाँ इतिहास रच्न युवापुस्तालाई धेरै चुनौती रहेको बताए ।

साहित्यकार रोशन जनकपुरीकी धर्मपत्नी विमला देवी कर्णको निधनपछि १४औँ दिनमा स्मरण तथा स्मृति सभा आयोजना गरिएको हो । जनकपुरीले धार्मिक विधि विधान नगरी वैकल्पिक ढंगले स्मरण कार्यक्रम सम्पन्न गरेका थिए । उनले आफ्नी आमाको निधनका बेला पनि कुनै धार्मिक कर्मकाण्ड नगरी श्रद्धाञ्जली प्रकट गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री महेन्द्र पासवान, पूर्वमन्त्री बोधमाया यादव, पूर्वमन्त्री सुनिता यादव, प्रदेश सांसद दिलीप साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, भौतिकवादी चिन्तक वैद्यनाथ श्रमजीवीलगायतको उपस्थितिले कार्यक्रमलाई ‘प्रगतिशील समाज परिवर्तन’को बहसका केन्द्रमा परिणत बनाएको थियो ।