जनकपुरधाम, २० मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको पद तथा गोपनीयताको शपथ ग्रहण आइतबार हुने भएको छ ।

सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता यादवले मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा शपथ लिन लागेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आन्तरिक तयारी पूरा गरेको जनाएको छ । कार्यालयका अनुसार मुख्यमन्त्रीसँगै गठबन्धनका केही नयाँ मन्त्रीहरूले पनि सोही दिन शपथ ग्रहण गर्नेछन् ।

नेपाली काँग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू मिलेर बनेको सातदलीय गठबन्धनका ७७ प्रदेशसभा सदस्यको समर्थन पाएपछि यादवले सरकार गठनको दाबी बुझाएका थिए ।

समर्थन दर्ता भएपछि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई सरकार गठनका लागि आमन्त्रण गरेका थिए ।

मुख्यमन्त्री यादवले शपथ ग्रहणका सबै तयारी पूरा भइसकेको तथा गठबन्धनका केही मन्त्रीहरू समेत आइतबारै शपथ लिने जानकारी दिएका छन् । शपथपछि मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकता सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।