मैथिली चलचित्रमा भाषिक शुद्धता कायम गर्न दुई दिने विशेष प्रशिक्षण

जनकपुरधाम, १९ मंसिर । मधेश प्रदेश सरकारअन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डले मैथिली भाषामा निर्माण हुने चलचित्र र लघुचलचित्रमा भाषिक शुद्धता तथा साहित्यिक प्रस्तुति सुधार गर्ने उद्देश्यसहित दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रशिक्षण जनकपुरधामस्थित मैथिली विकास कोषको सभाकक्षमा भइरहेको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष किशोर कुमार लेखीका अनुसार प्रशिक्षणमा विद्यार्थीलाई चलचित्र तथा लघुचलचित्र लेखन निर्माणका क्रममा प्रयोग हुने संवादलाई कसरी प्रभावकारी र भाषिक रूपमा शुद्ध बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत मार्गदर्शन दिइएको छ । सहभागीहरूलाई मैथिली भाषिक शैली, उच्चारण, वाक्य संरचना, व्यवहारिक स्क्रिप्ट लेखन अभ्यासदेखि लघु स्क्रिप्ट तयार गर्ने कार्यसम्म समेटिएको छ ।
कार्यक्रममा मैथिली भाषा साहित्यका प्राध्यापक तथा चलचित्र क्षेत्रमा क्रियाशील विशेषज्ञ प्रशिक्षकका रूपमा खटिएका छन् । बोर्डका प्रशासकीय अधिकृत राधेशंकर पालका अनुसार प्रशिक्षणमा ६० जना विद्यार्थीको उत्साहपूर्ण सहभागिता रह्यो ।

मैथिलीका चर्चित गायक सुनिल मल्लिकले बालबालिकाद्वारा निर्माण भइरहेका लघुचलचित्रमा देखिने भाषिक अशुद्धता तथा सामाजिक प्रभाव पार्ने शब्दावली सुधार गर्न यस प्रकारका कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउँदै बोर्डलाई धन्यवाद ज्ञापन गरे । उनले निरन्तरता दिन आग्रह पनि गरे ।
त्यसैगरी, बोर्डकी सदस्य तथा कलाकार रिना यादवले चलचित्रमा प्रयोग हुने संवादले समाजमा गहिरो प्रभाव पार्ने भएकाले पहिलोपटक आयोजना गरिएको यस्तो प्रशिक्षणले भाषिक शुद्धता र उचित प्रस्तुति सुनिश्चित गर्न थालनीको काम गर्ने विश्वास व्यक्त गरिन् ।
दुई दिने प्रशिक्षणमा मैथिलीका उपप्राध्यापक श्यामसुन्दर शशी र पूर्णेन्दु कुमार झा प्रशिक्षकका रूपमा सहभागी छन् । कार्यक्रमको उद्घाटन विद्यार्थी स्वस्तिक मण्डल, चाँदनी खातुन र कुनाल मिश्रले संयुक्त रूपमा गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

