नेकपाको नेतृत्व अस्वीकार गर्दै पर्साका सात युवा नेता प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ

जनकपुरधाम, १९ मंसिर । विभिन्न वामपन्थी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वलाई अस्वीकार गर्दै पर्साका सात प्रभावशाली युवा नेता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका छन् ।
जनार्दन शर्मा र बाबुराम भट्टराईको पहलमा स्थापित प्रलोपा हालै युवा पुस्ताको ‘वैकल्पिक राजनीतिक केन्द्र’का रूपमा अघि बढिरहेको छ ।
प्रलोपा प्रवेश गर्नेमा पूर्व माओवादी केन्द्रका युवा नेता सन्तोष घिमिरे, नेपास राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा क्षेत्र नं. २ का इन्चार्ज अमिताभ बच्चन दास, क्षेत्रीय संयोजक सुनिल रौनियार, कालिकामाई गाउँपालिकाका इन्चार्ज दिनेश प्रसाद यादव, युवा नेता फनिद्र प्रसाद गुप्ता र अखिल (क्रान्तिकारी) का केन्द्रीय लेखा आयोगकी उपाध्यक्ष गायत्री सिंह रहेका छन् ।
यी नेताहरूले लामो समयदेखि कम्युनिस्ट पार्टीभित्र नेतृत्व चयन प्रक्रियामा विद्यमान ‘गोजीबाट नेता छान्ने प्रवृत्ति’, वृद्ध नेतृत्वको वर्चस्व र जनवादी केन्द्रीकरणको नाममा जथाभावी निर्णय गर्ने संस्कृतिप्रति असन्तुष्टि जनाउँदै नेकपाको मार्गप्रति मोहभंग भएको बताएका छन् ।
विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘पार्टी एकताको नाममा जनताले तिरस्कार गरिसकेको पुरानो पुस्तालाई अघि सारेर नयाँ पुस्ताको चाहना बेवास्ता गर्ने प्रवृत्तिले नेकपाको भविष्य अन्धकारदेखिएको छ । प्रचण्ड–माधव नेपाल नेतृत्वबाट आजको पुस्ताको एआई युगअनुकूल माग सम्बोधन हुने सम्भावना छैन ।’
निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, सामाजिक न्याय, संघीयता सुदृढीकरण तथा जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको पक्षमा नयाँ विचार, नयाँ संरचना र वर्गीय मुक्तिको एजेन्डासहित अघि बढ्नुपर्ने आवश्यकता महसुस भएको उनीहरूको भनाइ छ ।
‘नयाँ पुस्ताको आकांक्षा पुरा गर्ने वैकल्पिक मार्गको खोजीका क्रममा हामी प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

