बेथिति अन्त्य गर्ने आफ्नो पहिलो लक्ष्य : नवनियुक्त मुख्यमन्त्री यादव

जनकपुरधाम, १९ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार सम्हाल्नेबित्तिकै प्रदेशमा फैलिएका बेथिति अन्त्य गर्ने कामबाट आफ्नो कार्ययात्रा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार सातदलीय गठबन्धनको समर्थनमा संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नियुक्तिपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले सुशासन कायम गर्दै प्रशासनिक तथा वित्तीय अनियमिततामा कडाइ गर्ने बताए ।
‘प्रदेश थुप्रै बेथितिमा डुबेको छ । मेरो पहिलो काम नै त्यही बेथिति हटाएर थितिमा ल्याउने हुनेछ,’ यादवले भने, ‘सुशासन र उत्तरदायित्वसहित सरकार सञ्चालन हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
यादवले मधेश प्रदेश अझै पनि गरिबी, अशिक्षा र आधारभूत सेवाको अभावजस्ता चुनौतीमा बाँधिएको उल्लेख गर्दै ती समस्या समाधानतर्फ तत्काल काम थाल्ने घोषणा गरे ।
मन्त्रीपरिषद् विस्तार चरणबद्ध रूपमा सम्पन्न गरेर सरकारलाई छिट्टै पूर्णतामा लैजाने पनि उनले स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

