मधेशको छैठौँ मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

जनकपुरधाम, १९ मंसिर । मधेश प्रदेशले नयाँ नेतृत्व पाएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई संविधानको धारा १६८(२) बमोजिम प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने संकेतपछि राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
सोही आह्वानपछि सातदलीय मोर्चाभित्रका ६ दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित ७७ जना सांसदको समर्थनमा शुक्रबार दाबी पेस गरिएको थियो । दाबी वैधानिकरूपमा पुष्टि भएपछि कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।
नवनियुक्त मुख्यमन्त्री यादवले गठबन्धनभित्र मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयको बाँडफाँडबारे छलफल जारी रहेको बताउँदै छिट्टै पूर्ण सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् ।

सातदलीय गठबन्धनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

