जनकपुरधाम, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी नीति विपरीत गतिविधि तथा अनुशासन उल्लंघन गरेको आरोपमा आफ्नो समानुपातिक महिला तर्फकी प्रदेश सभा सदस्य कंचन विच्छालाई पार्टीको साधारण सदस्यतासँगै प्रदेश सभा सदस्यताबाट पनि हटाएको छ ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको निर्णयअनुसार विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरिएको थियो ।

सो सम्बन्धी पत्र राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीबाट मधेश प्रदेश सभा सचिवालयमा प्राप्त भएको सचिवालयले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ र ३५ तथा प्रदेश सभा कार्यसंचालन नियमावली,२०७५ को नियम १९० र १९१ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी प्रदेश सभा सचिवालयले विच्छाको सदस्यता खोसिएको जानकारी सार्वजनिक गरेको हो ।

प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयको जानकारी गराइएको उल्लेख छ ।

राप्रपाको निर्णयसँगै मधेश प्रदेश सभामा पार्टीको प्रतिनिधित्वमा फेरबदल भएको छ भने उक्त रिक्त स्थान कसरी पूर्ति गरिने भन्ने विषयमा आगामी दिनमा प्रक्रिया अगाडि बढ्नेछ ।