धनुषामा जसपाद्वारा शान्तिपूर्ण धर्ना, संविधान संशोधनदेखि कृषि समस्यासम्म १० बुँदे माग

जनकपुरधाम, १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले देशको बदलिँदो राजनीतिक तथा आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना शुरू गरेको छ।
धर्नामा सहभागी कार्यकर्ताहरूले दीर्घकालीन राजनीतिक स्थिरता, समानुपातिक प्रतिनिधित्व, किसानको हकहित र युवाको भविष्यसँग जोडिएका मुद्दाहरू तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् ।
जसपाले लामो समयदेखि उठाउँदै आएको १० बुँदे मागलाई फेरि एकपटक अघि सारेको छ । प्रमुख मागमा संविधान संशोधन तथा पुनर्लेखन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण र स्थानीय तहलाई प्रदेशको अधिकारमा राख्ने व्यवस्था सबैभन्दा प्राथमिकतामा रहेको पार्टीले जनाएको छ ।

त्यसैगरी प्रत्यक्षरूपमा जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था लागू गर्नुपर्ने, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने लगायतका आर्थिक तथा संरचनागत सुधारका माग पनि प्रस्तुत गरिएका छन् ।
प्रदेश स्तरीय सुरक्षा संरचना प्रभावकारी बनाउन ‘प्रहरी तथा कर्मचारी समायोजन’ तत्काल लागू गर्नुपर्ने, राजनीतिक नियुक्तिमा भागबन्डाको अन्त्य गर्नुपर्ने, उखु किसानलाई बाँकी भ्याट रकम ३५ प्रतिशत भुक्तानी गर्नुपर्ने र देशभर मल खादको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने जसपाको माग छ ।
यसबाहेक, पछिल्ला वर्षहरूमा सामाजिक, आर्थिक र डिजिटल क्षेत्रमा देखिएको असमानता सम्बोधन गर्न जेनजी युवा पुस्ताका जायज मागहरू पूरा गर्न सरकार सुनियोजित योजनासहित अघि बढ्नुपर्ने पार्टीको जोड छ ।

जसपाका नेता तथा कार्यकर्ताले माग पूरा नभएसम्म चरणबद्ध कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।
धर्ना स्थानीय स्तरमै भए पनि मुद्दाहरू राष्ट्रिय एजेन्डाका रूपमा प्रस्तुत गरिएको जसपा धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

