महोत्तरी, १७ मंसिर । महोत्तरी जिल्लाका सीमावर्ती नाकाहरूमा सुरक्षा संयन्त्र थप कडाइ गरिएको छ ।

अपरिचित वा परिचय नखुलेका व्यक्तिहरू अवैध रूपमा सीमा पार गर्न सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा जाँच कडा पार्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

प्रशासनका अनुसार पछिल्लो समय भारत–नेपाल सीमाबाट शंकास्पद आवतजावत बढेको संकेत भेटिन थालेपछि नाका क्षेत्रमा प्रहरी र सशस्त्र टोलीलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

विशेषगरी परिचय खुलाउन नसक्ने व्यक्तिको प्रवेशमा कडाइ गरी किन, कहाँ र कसरी सीमा पार गर्न खोजिएको हो भन्ने विषयमा विस्तृत सोधपुछ भइरहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीयवासी, व्यवसायी तथा घरधनीलाई पनि विशेष सतर्क रहन आग्रह गरेको छ । अपरिचित, परिचय नखुलेका वा शंकास्पद व्यक्तिलाई बसोवास नगराउन, कोठा भाडामा नदिन र कुनै पनि प्रकारको कामकाजमा नलगाउन प्रशासनले चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालयले सीमा सुरक्षा सुदृढ बनाउन नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी वा प्रशासनलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

सुरक्षा निकायले नाकामा आवश्यक मनिटरिङ बढाएको छ भने प्रशासनले परिस्थितिअनुसार थप कडा कदम चाल्न सक्ने जनाएको छ ।