गुजरातबाट आएका सेवकले देखाए निस्वार्थ सेवा, यहाँका युवाले किन छोडे अवसर?

–ज्योति झा
जनकपुरधाम, १७ मंसिर ।
नेपालकै सांस्कृतिक एवम् धार्मिक आस्थाको केन्द्र हो जनकपुरधाम । जहाँ जानकी मन्दिरको महिमा मात्र नभई यहाँको व्यवस्थापनको दुरावस्था पनि स्थानीय र विदेशी दर्शकले प्रष्ट देख्छन् । सामाजिक सञ्जालमा युवा उत्साह र वास्तविक जीवनको सेवा व्यवस्थापनबीचको ठूलो अन्तर पनि छर्लङ देखिन्छ ।
यहाँका युवा सामाजिक सञ्जालमा जति सक्रियता देखाउँछन् त्यति नै सक्रियता यदि वास्तविक जीवन, समाजसेवा, सफाइ अभियान वा मैथिली मिथिलाको पहिचान संरक्षणमा प्रयोग गरेको भए सायद आज जनकपुरधामको मुहार नै फेरिएको हुन्थ्यो । तर, रियलिटी र रीलबीचको अन्तर आकाश र पाताल जस्तै छ यहाँ ।
जानकी मन्दिर नेपाल मात्रै नभई देश विदेशमा पनि परिचित छ । देशभर र विदेशबाट पर्यटक यहाँ दर्शन गर्न आउँछन् । कतिले त जनकपुरधाम अर्थात् जानकी नगरिमा आफ्नो अन्तिम सास निस्किनु स्वर्गको बाटो खुल्नेसम्मको आस्था राख्छन् । तर, प्रसिद्धि र व्यवस्थापन बीचको अन्तर विडम्बनापूर्ण छ ।
जानकी मन्दिरमा दर्शनका क्रममा भक्तजनको ध्यान भगवानमा भन्दा आफ्नो चप्पल जुत्तामा बढि केन्द्रित हुन्छ । म आफैं दुई पटक चप्पल चोरीको अनुभव गरिसकेकी छु । विशेष गरी विवाहपञ्चमीको समयमा मन्दिरमा भिडभाड अत्यधिक हुन्छ । र, चप्पल चोरीका घटना झन् बढ्छन् । यहाँका युवाहरू सामाजिक सञ्जालमा सक्रिय भए पनि मन्दिर व्यवस्थापनमा त्यत्तिकै निष्क्रिय देखिन्छन् ।
यस समस्याको समाधानका लागि भारतको गुजरातस्थित सूरतबाट १२ जनाको टोली जनकपुरधाम आउँछन् । उनीहरूले भक्तजनको चप्पल व्यवस्थित गर्न कुपन प्रणाली लागू गर्छन्, झोला व्यवस्थापन गर्छन्, भीड नियन्त्रित गर्छन् र दर्शनको सहजता सुनिश्चित गर्छन् ।
यस टोलीका सदस्यहरू सर्वसाधारण व्यक्ति होइनन् । धेरैजसो सफल व्यापारी, उद्योगपति र समाजसेवी हुन् । तर, सेवा भावले प्रेरित भएर उनीहरू निस्वार्थ रूपमा काम गर्छन् । चप्पल उठाउनेदेखि मन्दिर सरसफाइ गर्नेसम्म उनीहरू कुनै प्रकारको हिच्किचाहट देखाउँदैनन् ।
टोलीमा सहभागी ६० वर्षीय पदमराम भन्छन्, ‘हाम्रो काम सेवा गर्नु हो, देखाउने होइन । दान गर्दा अर्को हातलाई थाहा हुन जरुरी छैन । हामी संसारलाई देखाउन नभई भक्तजनलाई सेवा गर्न आएका हौँ ।’
टोलीले हरिद्वार, अयोध्या, राजस्थान र जनकपुरधाममा विभिन्न धार्मिक अवसरमा सेवा पुर्याउँछ । उनीहरूको अगुवा चोपडा साहेब हुन् । उनीहरू १५–२० दिनका लागि छुट्याएर धार्मिक स्थलमा पुग्छन्, र आफ्नो मुख्य व्यवसाय यस्ता व्यवस्थापन पछि मात्र गर्छन् ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास भन्छन्, ‘उनीहरूले मन्दिरमा पानी ट्याङ्क स्थापना गरेका छन्, विवाहपञ्चमीको सातै दिनका फरक–फरक पोशाक ल्याउँछन्, रोटी मेसिन पनि ल्याउँछन्, जसले घण्टामा दुई हजार रोटी पकाउँछ । यसबाट दैनिक भक्तजनको सेवा सुनिश्चित हुन्छ ।’
टोलीले बालबालिकालाई राम नाम लेख्न पनि प्रेरित गर्छ । बच्चाहरू जानकी मन्दिर परिसरमा आफ्नो नाम दर्ता गराउँछन्, हनुमान चालिसा पाउँछन्, र रामको नाम लेखेर पूरा गर्ने बच्चालाई चकलेट दिइन्छ । यसरी एकैसाथ उनीहरू राम नाम प्रचारक, दाता र सेवक बनेका छन् ।
जनकपुरधामका युवाहरू सामाजिक सञ्जालमा रील बनाउन जति उत्साहित छन् त्यति नै उत्साह यदि वास्तविक सेवा र व्यवस्थापनमा प्रयोग भएको भए आज मन्दिरको वातावरण फरक हुन्थ्यो कि ?
यहाँ अधिकांश मानिस समस्या देखेर आलोचना गर्छन्, समाधान खोज्न कम सक्रिय छन् । दान गर्न, सेवा गर्न, व्यवस्थापनमा योगदान दिन उनीहरूमा तत्परताको कमी छ । यहाँका पत्रकार पनि यस्तै प्रवृत्तिमा छन् । कसैले मागेको सहयोग नदिए पत्रकारितामा आलोचना मात्र गर्छन् ।
सहायक महन्थ दास भन्छन्, ‘भर्खरै एक जना पत्रकार सोफा माग्न आए, नदिँदा मनलाग्दी समाचार लेखिदिए ।’ यहाँको वास्तविकता यही हो । वास्तविक सेवा गर्नेको कमी छ । सामाजिक सञ्जालमा देखाबाका लागि काम गर्नेको भीड ।
जनकपुरधामको सुन्दरताका लागि जानकी मन्दिरको व्यवस्थापनमा सबैको सक्रियता आवश्यक छ । गुजरातका सेवकहरूको उदाहरणले देखाउँछ कि पैसा, प्रतिष्ठा वा मिडियामा देखिनु आवश्यक छैन । सेवा मनबाट निस्वार्थ भावनाले हुन्छ ।
यहाँका युवाले सामाजिक सञ्जालमा रील बनाउने जोश जस्तै वास्तविक जीवनमा पनि समाजसेवाको प्रयोग गरेको भए जनकपुरधामको चमक अझ फैलिन्थ्यो । मन्दिर व्यवस्थापन, भीड नियन्त्रण, चप्पल व्यवस्थापन र बालबालिकामा संस्कार जगाउने कार्य यहाँका युवाले नै अघि बढाउन सक्छन् ।
जनकपुरधाम बहाना होइन, हामी सबैको जिम्मेवारी हो ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

