ठूलो दलको नेता हुँदा गरिएको सडक प्रदर्शनप्रति यादवको आपत्ति

जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विपक्षी सांसदको आचरणप्रति कडा आपत्ति जनाएका छन् ।
प्रदेशसभाको बैठकमा बोल्दै उनले अर्को ठूला दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुँदा सात दलका सांसदहरूले सडकमा नाटक मञ्चन गरेको टिप्पणी गरेका हुन् ।
मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि गरिएको प्रदर्शन शालीन नभएको आरोप लगाए । उनले भने, ‘एमालेसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था पनि छैन । संघीयतालाई जोगाउनुभन्दा उल्टो सांसदहरू सडकमा झरेर प्रदर्शन, तोडफोड र राष्ट्रिय झण्डासम्मको अपमानमा उत्रिए, यो सांसदकै बेइज्जत हो ।’
उनका अनुसार ठूलो दलको हैसियतले पद सम्हाल्ने व्यक्तिको विरोधमा सात दल एकैसाथ सडकमा उत्रिनु प्रदेश राजनीति र संघीयताको मूल्यविरुद्ध जाने काम हो । ‘दलको आचरण संघीयता विरोधी भएर तोडफोडमा उत्रिनु प्रदेशसभाको गरिमामाथि नै प्रहार हो,’ उनले भने ।
यादवले प्रदेशसभामा उत्पन्न विवाद समाधान राजनीतिक संस्कारले सम्भव हुने भन्दै संवाद र संयम आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशको स्थिरताका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको पनि दोहोर्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

