जनकपुरधाम, १७ मंसिर । जनकपुरधामस्थित मोनाष्टिक सेकेण्ड्री बोर्डिङ स्कुलका क्याडेट विशेष मिश्र यस वर्ष माल्दिभ्समा हुने प्रतिष्ठित ‘युवा आदान–प्रदान कार्यक्रम’का लागि नेपाली सेनाको राष्ट्रिय सेवा दलबाट चयन भएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व र प्रतिनिधित्व क्षमता प्रदर्शन गर्न पाउने यो अवसर जनकपुरधाम र धनुषा जिल्लाका लागि गर्वको विषय बनेको छ ।

राष्ट्रिय सेवा दल, जगन्नाथदेवल काठमाडौँले जारी गरेको आधिकारिक पत्र अनुसार मिश्र पूर्वी तालिम शिक्षालयबाट मनोनयनमा परेका चार उत्कृष्ट क्याडेटमध्ये एक हुन् ।

उनी डिसेम्बर २४ तारिखसम्म माल्दिभ्समा सञ्चालन हुने कार्यक्रमका लागि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।

विशेष मिश्र जनकपुरधामस्थित मोनाष्टिक बोर्डिङ स्कुलका अनुशासित, सक्रिय र बहुपक्षीय प्रतिभाका विद्यार्थीका रूपमा परिचित छन् । उनको नेतृत्व क्षमता, तालिममा प्रदर्शन, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमप्रति सक्रियता र टोलीमा काम गर्ने क्षमताको मूल्याङ्कनको आधारमा राष्ट्रिय सेवा दलले अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि योग्य ठहर गरेको हो ।

विद्यालयका शिक्षकहरूले मिश्रलाई अनुशासन, जिम्मेवारी र आत्मविश्वासयुक्त विद्यार्थी भनेर वर्णन गर्दै उनको छनोटले मोनाष्टिक स्कुलको प्रतिष्ठा अझ उचो बनेको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय मैत्री र नेतृत्व विकास, युवा आदान प्रदान कार्यक्रम नेपाल–माल्दिभ्स मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न स्थापित गरिएको हो । कार्यक्रममा सहभागी क्याडेटहरूले नेतृत्व विकास, सांस्कृतिक प्रस्तुति, खेलकुद गतिविधि, टीम–बिल्डिङ, सामुदायिक सेवा, अन्तर्राष्ट्रिय सहकार्यका स्वरूपहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।

विशेष मिश्रको सहभागिताले जनकपुरधामका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मेचमा आफ्नो क्षमता प्रदर्शन गर्ने प्रेरणा दिने विद्यालयले प्रतिक्रिया जनाएको छ । मिश्र चयन भएको खबर सार्वजनिक भएपछि मोनाष्टिक बोर्डिङ स्कुलमा खुसी र उत्साह छाएको छ ।

विद्यालय प्रशासनले मिश्रको तयारीलाई सहज बनाउन अभिभावक, शिक्षक र तालिम शिक्षालयसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

विद्यालयका निर्देशक डा. सोनु साहले भने, ‘विशेषले मोनाष्टिकको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अवसर पाएका छन् । यो केवल एक विद्यार्थीको उपलब्धि मात्र नभई जनकपुरधामका सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणादायी उदाहरण हो ।’