जनकपुरधाम, १७ मंसिर । ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतिको संवद्र्धन’ मूल नारासहित ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस जनकपुरधाममा विविध कार्यक्रमका साथ मनाइएको छ ।

लाईफ नेपाल, अपाङ्गता समाज जनकपुरधाम र नेपाल अपाङ्ग समाज मधेश प्रदेशको संयुक्त आयोजनामा गरिएको प्रभातफेरीमा दर्जनौँ अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रह्यो ।

रंगभूमि मैदानबाट बाजागाजासहित सुरु भएको ¥याली जनकपुरधामको विभिन्न गल्ली परिक्रमा गर्दै रेल्वे स्टेशन पुगेर सम्पन्न भयो । कार्यक्रमलाई अष्ट्रेलियन एड, सिभिएम ग्लोबल, वल्र्ड भिजनलगायत संस्थाहरूले सहयोग गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले ह्वीलचेयर, ड्राइ साइकल, बैसाखी र छडीलगायत सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गर्दै स्थानीय तहले सामाजिक समावेशी प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

उनले अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण तथा परिचयपत्र वितरणमा केही प्रगति भए पनि ठोस उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै सरकारका सबै तहले नयाँ संरचना निर्माणमा अपाङ्गमैत्री मानक अनिवार्य बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वक्ताहरूले तीनै तहका सरकारलाई अपाङ्गमैत्री पूर्वाधार निर्माण, सेवाप्रवाह सुधार र पहुँचसम्बन्धी नीतिहरू कार्यान्वयनमा कडाइ गर्न आग्रह गरे । पुराना संरचनाको पुनःनिर्माण वा मर्मत–सम्भारमा समेत अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच हुने व्यवस्था गर्नुपर्नेमा सहभागीहरूले जोड दिए ।

यसै क्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अपाङ्ग समाज मधेश प्रदेशका अध्यक्ष किरण पासवानले प्रदेशमा ९० हजार ४ सय अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क प्रस्तुत गरे ।

उनका अनुसार मधेशमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष छन् । आयोजकले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहिचान, सम्मान र पहुँच सुनिश्चित गर्न निरन्तर दबाब र सहयोग दुवै आवश्यक रहेको धारणा व्यक्त गरे ।