जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले औपचारिक रूपमा स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९(१०)(क) अनुसार यादवको राजीनामा स्वीकार गरिएको उल्लेख छ ।

राजीनामा स्वीकृतसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका सदस्यहरूलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिअनुसार बहुमत हासिल गर्न दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने सदस्यले मंसिर १९ गते शुक्रबार बेलुका ५ बजेसम्म आफ्नो दावी पेश गर्नुपर्ने छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले तोकिएको समयभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्न अनुरोध गरिएको छ ।’

सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपुग्ने संकेत देखिएसँगै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका थिए । अहिले मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धन निर्माणका लागि राजनीतिक चलहलहट तीव्र बनेको छ ।

दलगत अंकगणित जटिल रहेको मधेश प्रदेशमा नयाँ सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा राजनीतिक परिदृश्य आन्तरिक रूपमा तातिएको छ ।