जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पेश गरेको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (१०) को खण्ड (क) बमोजिम यादवको राजीनामा स्वीकृत गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१०) को खण्ड (क) अनुसार दिनुभएको राजीनामा मंसिर १७ गतेका दिन प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।’

यससँगै संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को सरकार गठन हुने व्यवस्था नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्लाई कार्यवाहक रूपमा प्रदेश सरकार सञ्चालन गर्न तोकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि राजनीतिक रूपले कमजोर स्थितिमा पुगेका यादवले बुधबार राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएसँगै मधेश प्रदेश अब संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा प्रवेश गरेको छ ।