नयाँ सरकार गठनको प्रक्रियामा मधेश प्रदेश

जनकपुरधाम, १७ मंसिर । सर्वोच्च अदालतको परमादेशपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् ।
संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिनुपर्ने बाध्यताबीच राजनीतिक समीकरण अनुकूल नदेखिएपछि उनले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्रमा यादवले आफूले पाएको छोटो कार्यकालमा प्रदेशवासीका अपेक्षा र गुनासा सुन्दै किसान, बेरोजगार दक्ष युवा, श्रमजीवी, दलित तथा मुस्लिम समुदायका हितका लागि आवश्यक निर्णयहरू लिएको उल्लेख गरेका छन् । उनले मधेशको विकास, सुशासन र समृद्धिका लागि आफूले सम्भव हुने सबै प्रयास गरेको दाबी गरेका छन् ।
‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक अवस्थाले दिएको सन्देशलाई आत्मसात् गर्दै तथा नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ राजीनामा पत्रमा उल्लेख छ ।
यादवले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै संविधान, संघीयता र प्रदेशको शान्ति तथा विकासका लागि भविष्यमा पनि सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको पक्षमा रहिरहने प्रतिज्ञा समेत गरेका छन् ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार बिहानका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । तर, सत्ता समीकरण अनुकूल नभएपछि यादवले राजीनामा दिएका छन् ।
उनको राजीनामासँगै मधेश प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

