जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेशको वर्तमान सत्ता समीकरण फेरि अनिश्चित मोडतिर अग्रसर भइरहेका बेला नेपाली कांग्रेसभित्रबाटै एमालेसँग पुनः सहकार्य गर्ने प्रयासबारे असन्तुष्टि सार्वजनिक भएको छ।

प्रदेशमा केही नेताहरू एमालेसँग मिलेर वैकल्पिक सरकार निर्माण गर्ने तयारीमा लागेको चर्चा भइरहेका बीच कांग्रेसका युवा नेता दिपक ठाकुरले यस्तो कदम राजनीतिक रूपमा घातक र दीर्घकालीन रूपमा विनाशकारी हुने चेतावनी दिएका छन् ।

ठाकुरका अनुसार मधेश प्रदेशको विगतको अनुभव, वर्तमान संघीय सत्ता समीकरण र जनमत सबै एमालेसँग गठबन्धन गर्न कांग्रेसलाई प्रतिकूल हुने संकेत गर्छन् ।

उनले सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै प्रदेशमा देखिएको ‘एमाले–सम्बद्ध विकल्प निर्माण गर्ने प्रयास’ कांग्रेसको मूल सिद्धान्त र पार्टी इतिहासकै विरुद्ध जाने कार्य भएको टिप्पणी गरेका छन् ।

युवा नेता ठाकुरले कांग्रेस नेतृत्वले लिनुपर्ने कदमहरू पनि सार्वजनिक रूपमा औंल्याएका छन् । उनका अनुसार एमाले बाहेकका दलहरूसँग संवाद र सहकार्य नै कांग्रेसका लागि स्वभाविक राजनीतिक मार्ग हो ।

कांग्रेसले सम्भव भए मुख्यमन्त्रीको नेतृत्वमा सहकार्यमूलक सरकार बनाउनुपर्ने उनले सुझाए । यदि परिस्थितिले अनिवार्य रूपमा नेतृत्व अरू दललाई दिनुपर्ने भयो भने पनि मन्त्रालय लिएर सरकारमा जाने कुरा विचार गर्न सकिने, तर एमालेसँग गठबन्धन भने कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।

‘कुनै एक व्यक्तिको व्यक्तिगत महत्त्वकांक्षाका कारण पार्टीलाई बन्धक बनाउने, धरापमा पार्ने निर्णय हामी स्वीकार गर्नेछैनौँ,’ ठाकुरले भने ।

कांग्रेसभित्र अहिले प्रदेश स्तरीय सत्ता समीकरणबारे विभिन्न धार देखिन थालेका बेला ठाकुरको सार्वजनिक अभिव्यक्ति कार्यकर्तास्तरको चासोको प्रतिविम्बका रूपमा हेरिएको छ। उनले पार्टी नेताहरू जनभावना विपरीत हिँडे आगामी चुनावमा त्यसको गम्भीर असर पर्नु स्वभाविक भएको टिप्पणी गरे ।

‘हामीजस्ता कार्यकर्ता अब चुप लागेर बस्दैनौँ। पार्टीलाई गलत दिशामा धकेल्ने कुनै पनि निर्णयको कडा प्रतिरोध हुनेछ,’ उनले भने ।

उनले पार्टीभित्र देखिन सक्ने अराजक सत्ता लोभमाथि प्रहार गर्दै कांग्रेस एक–दुई व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम हुन नसक्ने स्पष्ट पारे । ‘कांग्रेस जनताको भरोसा हो। व्यक्तिगत स्वार्थ, शक्ति लोभ र सत्ताकाङ्क्षाले पार्टीलाई कमजोर पार्न दिइने छैन,’ ठाकुरको भनाइ छ।

कांग्रेस नेतृत्वले भने यस विषयमा आधिकारिक धार सार्वजनिक गरिसकेको छैन। तर, पार्टीभित्रको असन्तुष्टि बढ्दै गएसँगै एमालेसँग सहकार्यबारे हुने कुनै पनि सम्भावित कदमले पार्टीभित्र नयाँ विवाद सिर्जना गर्ने देखिन्छ ।