बुधबार बिहान साढे ८ बजे मधेश प्रदेश सभा बैठक बस्दै

जनकपुरधाम, १६ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रक्रियाअन्तर्गत प्रदेश सभा बैठक बुधबार बिहान बोलाइएको छ।
प्रदेश सभा सचिवालयले मङ्गलबार एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १६८(४) बमोजिम विश्वासको मतका लागि बैठक बस्ने जानकारी गराएको हो ।
सचिवालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार मंसिर १७ गते बुधबार बिहान ८:३० बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेशपछि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार तयारी बढाएका छन् ।
अदालतले सोमबार दिएको आदेशले वर्तमान सत्ता समीकरण र सरकारको भविष्य राजनीतिक रूपले थप संवेदनशील बनेको छ।
प्रदेश सरकारको पछिल्लो अवस्था, दलगत अंकगणित र सर्वोच्च अदालतको व्याख्याका कारण बुधबारको बैठकले प्रदेशको राजनीतिक दिशानिर्देशनमा टर्निङ पोइन्ट ल्याउने छ।
विश्वासको मत प्राप्त भए सरकारलाई राहत पुग्नेछ भने मत प्राप्त नभए नयाँ सत्ता समीकरणका लागि संविधानले तोकेको प्रक्रिया सुरू हुनेछ ।
प्रदेश सभा सचिवालयले सबै प्रदेश सभा सदस्य र सरोकारवाला अधिकारीलाई समयमै सभामा उपस्थित हुन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

