जनकपुरधाम, १५ मंसिर । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीकी २७ वर्षीया रोशनी झाको शंकास्पद मृत्यु प्रकरणलाई लिएर माइती पक्षले आपत्ति जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि सोमवार विरोध प्रदर्शन गरेका छन् ।

‘रोशनीको हत्या गरिएको छ, दोषीलाई कारबाही गर’ भन्दै नाराबाजीसहित माइती पक्ष सडकमा उत्रिएपछि केहीबेर तनावपूर्ण स्थिति समेत सिर्जना भएको थियो ।

गत बिहीबार राति आफ्नै घरमा मृत फेला परेकी रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरे पनि माइती पक्षले भने ‘योजना ब्युँताएर हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् ।

रोशनीको माइती घर धनुषाको नगराइन नगरपालिका–२ जटही हो । चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार उनको विवाह प्रशान्त मिश्रसँग भएको थियो । प्रशान्त हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कर्मचारी रहेका छन् ।

माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । उजुरी दर्ता भएपछि प्रहरीले आइतबार दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमका अनुसार माइती पक्ष असुरक्षित रहेको भन्दै आफूहरूले दुवैजनालाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको बताए ।

‘पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिन्न,’ उनले भने, ‘घटनास्थल निरीक्षण गर्दा मृतकको घाँटीमा डाम लागेको मात्र देखिएको छ । आत्महत्या हो कि हत्या, वैज्ञानिक रिपोर्ट आएपछि मात्र निष्कर्ष निस्कन्छ ।’

प्रदर्शनमा सहभागी मृतकका मामा प्रदीप चौधरीले घटनाको प्रकृति हत्या जस्तै देखिएको बताए । उनका अनुसार रोशनीको शरीरमा शंकास्पद चोट देखिनु, घाँटीमा डाम हुनु र रातारात लगाएका कपडा जलाएको घटना थप रहस्यमय बनेको छ ।

‘हामीलाई रोशनीको हत्या भएको पक्का शंका छ,’ चौधरीले भने, ‘प्रमाण नष्ट गर्न उनका कपडासमेत जलाइएको छ । सत्य बाहिर ल्याउन प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनकारीहरूले ‘हत्यारीलाई कारबाही गर’, ‘रोशनीलाई न्याय दे’ जस्ता नारा लगाए । प्रहरी प्रशासनले आन्दोलनरत पक्षसँग संवाद गर्दै परिस्थितिलाई नियन्त्रणमा ल्याएको थियो ।

माइती पक्षले घटनाको छानबिन उच्चस्तरीय समितिमार्फत गर्न माग गर्दै दोषी प्रमाणित हुने जो कसैलाई कडा कानुनी सजाय दिनुपर्ने बताएका छन् ।

प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ । पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्र वास्तविकता स्पष्ट हुने प्रहरीको भनाइ छ ।

स्थानीयवासीले पनि घटनालाई रहस्यमय भन्दै सत्यतथ्य छिटो बाहिर ल्याउन प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् ।