रामसीताको स्वयम्बर सम्पन्न, जानकी मन्दिर र रंगभूमि मैदानमा नेपाली सेनाद्वारा पुष्पवृष्टि

जनकपुरधाम, ९ मंसिर । मिथिलाको सांस्कृतिक पहिचान बोकेको महान् पर्व विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधाममा भगवान् रामसीताको वैदिक स्वयम्बर भव्यतापूर्वक सम्पन्न भएको छ ।
जनकपुरधामको जानकी मन्दिर र रंगभूमि मैदान श्रद्धा, आस्था र सांस्कृतिक रौनकताले भरिएको देखिन्थ्यो । विशेषगरी, नेपाली सेनाद्वारा जानकी मन्दिर परिसर र रंगभूमि मैदानमा गरिएको पुष्पवृष्टिले वातावरण थप दिव्य बनेको थियो ।
राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन, बाजागाजा र धार्मिक झाँकीका साथ निस्किएको थियो । उता जानकी मन्दिरबाट भने महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्किएको डोला रंगभूमि मैदान पुगेपछि स्वयम्बर प्रक्रिया सुरु भएको थियो ।
रंगभूमि मैदानमा पुगेका भगवान् रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि वैदिक परम्परा अनुसार रामजानकीको स्वयम्बर विधि सम्पन्न भएको हो ।
स्वयम्बर भइरहँदा नेपाली सेनाको हेलिकप्टरले रंगभूमि मैदान र जानकी मन्दिर क्षेत्रमाथि पुष्प वर्षा गर्दै यो ऐतिहासिक सांस्कृतिक क्षणलाई अझै भव्य बनाएको थियो । पुष्पवृष्टि भएको दृश्यले उपस्थित भक्तजन, व्रतालु महिला तथा तीर्थालुहरूको हर्षोल्लास झन् बढाएको थियो ।
जानकी मन्दिर परिसरमा राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार गरिने तालिका बनाइएको छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा राजा दशरथको भूमिका निर्वाह गर्नेछन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुबा राजा जनकको भूमिकामा रहनेछन् ।
विवाह समारोहका लागि जानकी मन्दिरलाई दुलहीझैँ श्रृङ्गार गरिएको छ । मन्दिर वरपर झिलिमिली बत्ती, फूलमालाले सजावट गरिएको छ भने विवाह विधि सम्पन्न गर्न आकर्षक मण्डप पनि निर्माण गरिएको छ ।
जनकपुरधामले आफ्नो सांस्कृतिक पहिचान र मैथिली सभ्यताको गौरवलाई आज उत्साहपूर्वक भावनामा उतारेको छ ।


























तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

