विवाहपञ्चमी महोत्सवमा सरकारको उपस्थिति ‘ब्यानर’मै सीमित

जनकपुरधाम, ९ मंसिर । सीताराम विवाहपञ्चमी जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बोकेको धार्मिक पर्वमा यस वर्ष सरकारका तीनै तहको समन्वय र व्यवस्थापन अत्यन्त फितलो देखिएको छ ।
लाखौँ श्रद्धालु जनकपुरधाम आएका बेला रंगभूमि मैदानदेखि जानकी मन्दिर परिसरसम्म भक्तजनहरू खुला आकाशमुनी रात बिताउन बाध्य भएको दृश्यले व्यवस्थापनको वास्तविकता प्रदर्शन गरेको हो ।
महोत्सवका मुख्य केन्द्र जनकपुरधाममा पुगेका भक्तजनका लागि न त पर्याप्त बसोबासको व्यवस्था छ, न त खानेपानी तथा शौचालयजस्ता प्राथमिक आवश्यकतामा नै सरकारको ध्यान गएको देखिन्छ । रंगभूमि मैदानमा सुतिरहेका तीर्थयात्रीहरू भन्छन्, ‘सरकारले प्रचार धेरै गर्यो, तर व्यवस्था शून्यजस्तै भयो ।’
अर्कोतिर, प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि विभिन्न दलका नेतासम्मका तस्बिर र नामसहितका ठूला–ठूला ब्यानर जानकी मन्दिरको मुख्य प्रवेशद्वारमै झुण्ड्याइएको दृश्यले भक्तजन र स्थानीयवासीमा थप असन्तुष्टि जन्माएको छ । भक्तहरूको सुविधाभन्दा ‘नेताको प्रचार’ प्राथमिकतामा परेको देखिएपछि सामाजिक सञ्जालमा समेत आलोचनाको लहर चलेको छ ।
जानकी मन्दिर व्यवस्थापनको अग्रपंक्तिमा रहेका सहायक महन्थ रामरोशन दासले स्थानीय तहले केही सहयोग गरे पनि प्रदेश तथा संघीय सरकारले अति ठूलो धार्मिक कार्यक्रमप्रति आवश्यक चासो नदेखाएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले सकेको सहयोग गर्यो, तर प्रदेश सरकार र संघीय सरकारले झन् ठूलो कार्यक्रमको महत्त्व बुझेनन् । व्यवस्थापनको बोझ मन्दिर र स्थानीयवासीमै पर्यो ।’
नेपालका विभिन्न ठाउँ र भारतको मिथिला क्षेत्रबाट आएका भक्तजनले प्रदेश सरकारले धार्मिक पर्यटन प्रवद्र्धनका नाममा बजेट खर्च गर्छ तर वास्तविक कार्यक्रमका बेला सेवा–सुविधा उपलब्ध गराउन नसक्ने टिप्पणी गरे ।
एक भारतीय श्रद्धालुले भने, ‘हामी हरेक वर्ष आउने गर्छौँ । तर, जनकपुरधाममा मूल समस्या उही बसोबास, खानेपानी र स्वच्छता । यसपाली त झन् अस्तव्यस्त छ ।’
प्रहरीको तर्फबाट सुरक्षा व्यवस्था कडा रूपमा गरिएको देखिए पनि तीर्थयात्रीको भीड, खानेपानी वितरण, स्वास्थ्य सहायता र सरसफाइ व्यवस्थामा समन्वयको गम्भीर अभाव रहेको स्थानीय संघसंस्थाहरूले बताएका छन् ।
जनकपुरधामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने सरकारी घोषणा भइरहे पनि विवाहपञ्चमीजस्तो अवसरमा देखिने व्यवस्थापनको कमजोरीले प्रदेश सरकारको क्षमतामाथि प्रश्न उठाएको छ ।
लाखौँ भक्तजन भित्रिने कार्यक्रममा पूर्वतयारी, जनशक्ति परिचालन, बसोबास व्यवस्था, पानी, यातायात र आपतकालीन स्वास्थ्य सेवा जस्ता आधारभूत कुरामा ध्यान नदिँदा ‘धार्मिक राजधानी’ को गरिमा नै कमजोर भएको स्थानीयको टिप्पणी छ ।
मिथिलाको सांस्कृतिक पहिचान झल्काउने विवाहपञ्चमी महोत्सवमा भक्तजनले सहनुपरेको कष्ट र जिम्मेवार निकायद्वारा देखाइएको उदासीनताले आगामी वर्षका लागि ‘समन्वित र संवेदनशील व्यवस्थापन’ को आवश्यकता कडाइका साथ उठाएको छ ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

