जनकपुरधाम, ७ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनामा मंसिर ८ गते सोमबारदेखि मंसिर १० गते बुधबारसम्म विद्यालयको पठनपाठन स्थगित रहने उल्लेख गरिएको छ।

विवाह पञ्चमी महोत्सवमा देश विदेशबाट आउने ठूलो संख्यामा भक्तजनको भीडलाई ध्यानमा राख्दै नगरको समग्र वातावरण व्यवस्थापन र सुरक्षालाई मध्यजर गर्दै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

नगरमा आयोजना हुने विवाह पञ्चमी मेलामा भव्य भीड हुने भएकाले श्रद्धालु भक्तजनका लागि बास, पिउने पानी र सार्वजनिक शौचालय व्यवस्थापनमा सहयोग पुर्याउन विद्यालय तथा सम्बन्धित निकायलाई पनि उपमहानगरपालिकाले आग्रह गरेको छ।

शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेयले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जनकपुरधामलाई व्यवस्थित र स्वागतयोग्य बनाउँदै भक्तजनलाई सहजता प्रदान गर्न सबैको सहकार्य आवश्यक रहेको भन्दै मेलाको व्यवस्थापनमा विद्यालयहरूको सकारात्मक भूमिका अपेक्षित रहेको बताइन्।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि विवाह पञ्चमीमा लाखौँ भक्तजन जनकपुरधाम आउने अनुमान गरिएको छ। उपमहानगरपालिकाले मेलालाई सुव्यवस्थित बनाउन विभिन्न संयन्त्र सक्रिय गरेको जनाएको छ।