जनकपुरधाम, ७ मंसिर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा आयोजित ‘अन्तर्क्रिया तथा मिथिला चित्रकला कार्यशाला–२०८२’ सम्पन्न भएको छ।

मिथिला कला, संस्कृति तथा सिर्जनशील क्षमताको प्रवर्द्धनमा केन्द्रित यो कार्यशालाले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारलाई एउटा साझा मञ्च प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी थिए । विशिष्ट अतिथिका रूपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली सहभागी थिए । साथै ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदिप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, गोपाल चौधरी, नित्यानन्द मण्डललगायतका व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो ।

कार्यक्रममा करिब ५० जना कलाकारले सक्रिय सहभागिता जनाउँदै मिथिला चित्रकलाका विविध शैली, प्रविधि र सांस्कृतिक अभिव्यक्तिमा अन्तरक्रिया गरेका थिए ।

सहभागी कलाकारहरूले कार्यशालाले कलात्मक दृष्टि विस्तार गर्न र नयाँ सृजनात्मक आयाम बुझ्न सहयोग गरेको अनुभव साझा गरे ।

कार्यक्रमको अध्यक्षता मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले गरेका थिए भने सञ्चालन कोषका सदस्य सचिव श्यामसुन्दर शशिले गरेका थिए ।