जनकपुरधाम, ७ मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज आयोजना हुने तिलकोत्सवका लागि जनकपुरधामको राम मन्दिरमा व्यापक तयारी भइरहेको छ ।

त्रेता युगमा भगवान राम र माता सीताको विवाहको स्मरणमा हरेक वर्ष मनाइने यस महोत्सवको महत्वपूर्ण विधि तिलकोत्सवलाई भव्य र व्यवस्थित बनाउन महावीर युवा कमिटी, स्थानीय निकाय र मन्दिर व्यवस्थापन पूर्ण रूपमा सक्रिय छन् ।

आयोजकका अनुसार जानकी मन्दिरबाट ‘पाहुर’ लिएर जानकी मन्दिरका महन्थ राम मन्दिरसम्म पुग्नेछन् । त्यसपछि राम मन्दिरको प्राङ्गणमै मुख्य तिलकोत्सव विधि सम्पन्न गरिने महावीर युवा कमिटीका महासचिव भरत साहले जानकारी दिए ।

तिलकोत्सवको विशेष आकर्षणमा हरेक वर्षझैँ जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्दै जनकपुरस्थित राम मन्दिरका महन्थबीच हुने ‘समधी मिलन’ रहेको छ । दुवै पक्षबीच हुने हास्य–व्यङ्ग्य मिश्रित संवाद तथा सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई झनै मनोरञ्जक बनाउने परम्परा रहेको छ ।

यसैबीच, सोमबार महोत्सवको पाँचौ दिन माता सीताको ‘मटकोर’ कार्यक्रम गंगासागर पोखरीमा गरिनेछ । मंगलबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिर परिसरमा सीतारामको वैवाहिक कार्यक्रम आयोजना हुनेछ । बुधबार ‘रामकलेवा’ सम्पन्न भएपछि यो वर्षको विवाहपञ्चमी महोत्सव विधिवत् रूपमा समापन हुनेछ ।