भव्य तिलकोत्सवमा मेयर साह र राजेन्द्र सिंह पंकजको प्रमुख भूमिका

जनकपुरधाम, ६ मंसिर । अयोध्याको बिर्ला अडिटोरियममा भव्य तिलकोत्सव समारोह सम्पन्न भएको छ । समारोहमा जनकपुरधामका मेयर मनोजकुमार साहले देवी जानकीको भाइको रूपमा तिलक गर्ने महत्वपूण्ण भूमिका निर्वाह गरेका हुन् ।
विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पंकजले दशरथको भूमिका निभाउँदै समारोहमा दुल्हा पक्षको नेतृत्व गरेका थिए । समारोहका लागि जनकपुरधामबाट लगिएको तिलक, लुगाफाटा र गरगहना पंकजलाई हस्तान्तरण गरिएको थियो ।
भेटीमा माखाना, खाजा, लड्डु, विभिन्न मिठाइ, केरा तथा विभिन्न फलफूल समावेश थिए । साथै, भेटीमा राम, राजा दशरथ र तीन रानीहरूसहित सबै दाजुभाइका लागि विशेष लुगा पनि समावेश गरिएको थियो ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारिणी सदस्य फूलकुमारी महतो, मेयर पत्नी मुन्नीकुमारी साह, रेणु कुमारी, मुरादाबादकी शैलु सिंह लगायतका महिलाले मैथिली गीतमार्फत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा राजा दशरथ र तीन रानीलाई मैथिली भाषामा गीतमार्फत गाइने सांगीतिक प्रस्तुति समेत गरिएको थियो ।
अयोध्याका प्रतिनिधिहरूमा बजरंग दल अयोध्या डिभिजन इन्चार्ज धनञ्जय सिंह, पूर्वमेयर ऋषिकेश उपाध्याय, विश्व हिन्दू परिषद्का सहसचिव वीरेन्द्र, कार सेवक पुरमका इन्चार्ज उमेश पौडवाल र देवेन्द्र मिश्रको उपस्थिती रहेको थियो ।
जनकपुरधामतर्फ हिन्दू समाज नेपालका केन्द्रीय उपाध्यक्ष रघुनाथ साह, केन्द्रीय सदस्य मनोहर साह, वीरेन्द्र साह र विमलले समेत समारोहमा सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

