रौतहट, ६ मंसिर । रौतहट प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा निजगढ–६ का २२ वर्षीय युवक सुमन आचार्यलाई अवैध हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा सन्तपुरस्थित सुरक्षा बेसबाट खटिएको १० जनाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आचार्यको साथबाट दुई थान इटाली निर्मित पेस्तोल, दुई म्याग्जिन, १३ राउण्ड गोली, एक खुकुरी, मोबाइल फोन, बैंक एटिएम कार्ड, लाइसेन्स रसिद र अन्य व्यक्तिगत सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बरामद सामग्रीसहित आचार्यलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । सीमा सुरक्षा बल गौरका प्रमुख रामहरी अधिकारीले आचार्यलाई सुरक्षा बेस सन्तपुरमा राखेर नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

बरामद सामग्रीमा ९ मिमि ब्राउनिङ पेस्तोल (सिनं. ०००१६९ ०८२३६), ब्रेटा गार्डोनेट भिटी म्याग्जिन, इटालीमा बनेको म्याग्जिन, १३ राउण्ड गोली (पिन्धिमा ३११२३ उल्लेख), एक खुकुरी, ओपो मोबाइल, ग्लोबल आइएमई बैंकको भिजा एटिएम कार्ड र अन्य सामान समावेश छ ।

अनुसन्धान जारी रहेको र आवश्यक कारबाही प्रकृया पूरा भई कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ ।