जनकपुरधाम, ६ मंसिर । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तारसँगै देशभर व्यापक सडक आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले आन्दोलनका चरणबद्ध कार्यक्रमहरू जानकारी दिए ।

बस्नेतका अनुसार मंसिर १० गते देशभरका जिल्ला अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको शुरुवात गर्नेछन् । त्यसपछि मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक निर्वाचन क्षेत्रका शहर बजारमा विरोध प्रदर्शन र कोणसभाहरू सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

यसबाहेक मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ । मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोधसभा र जनसभा आयोजना गरिने जसपाले जनाएको छ ।

पार्टीले प्रदेशस्तरीय जनप्रदर्शनका मितिहरूसमेत सार्वजनिक गरेको छ । पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुरधाम, पुस १५ गते वीरगंज तथा पुस १७ गते नेपालगंज र भैरहवामा विरोधसभा हुनेछ । सरकार पार्टीका पुराना मागप्रति गम्भीर नभएको र वार्तामा सकारात्मकता नदेखाएका कारण सडक सङ्घर्ष अपरिहार्य बनेको जसपाको आरोप छ ।

यसैबीच, संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले शनिबार बसेको बैठकपछि आगामी निर्वाचन संयुक्त रूपमा लड्ने सहमति गरेका छन् । मोर्चामा रहेका दलहरू एकताबद्ध भएर गठबन्धनमै उम्मेदवार चयन गर्ने तयारीमा रहेको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

बैठकले आगामी निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई आवश्यक पूर्वतयारी र व्यवस्थापन सुनिश्चित गर्न माग गरेको छ ।