बिहार विधानसभा निर्वाचनका कारण रौतहटको सीमावर्ती नाका चार दिनका लागि बन्द

रौतहट, २१ कार्तिक । भारतको बिहार राज्यमा हुन लागेका विधान सभा चुनावका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित रौतहटका नाकाहरू चार दिनका लागि बन्द गरिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा यही कार्तिक २५ गते दोस्रो चरणको विधान सभा निर्वाचन हुँदैछ । त्यसको सुरक्षालाई मध्यनजर गर्दै नाका बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिपेश सागर भुसालका अनुसार निर्वाचन अवधिमा शान्ति–सुरक्षा व्यवस्थापन सुदृढ बनाउन कार्तिक २२ गते साँझ ८ बजेदेखि २५ गते बेलुका ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेक सम्पूर्ण आवागमन रोक लगाइने छ ।
‘भारतको विधान सभा निर्वाचनका कारण सीमाक्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले नेपालतर्फ पनि सतर्कता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘निर्धारित समयसम्म सर्वसाधारणले नाकाबाट ओहोरदोहोर नगर्न अनुरोध गरिएको छ। ’
प्रशासनका अनुसार यस अवधिमा नेपाल र भारतबीचका गौर, इनरुवा, फतुवा, रौतापुर, श्रीरामपुर, छितौन, अजगैबी लगायतका नाकाहरू बन्द रहनेछन् । अत्यावश्यक सेवाका सवारीसाधन र एम्बुलेन्सका लागि भने विशेष अनुमति पत्रका आधारमा मात्र आवागमन हुने बताइएको छ ।
सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनबीच संयुक्त समन्वय गरिएको छ । सीमाक्षेत्रमा अतिरिक्त सुरक्षा टोलीहरू परिचालन गरिने र अनावश्यक भीडभाड तथा गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको प्रशासनले जनाएको छ ।

रौतहट जिल्ला भारतको बिहार राज्यसँग ७६ किलोमिटर सीमा जोडिएको छ । हरेक चुनाव अवधिमा भारतीय पक्षको सुरक्षा संवेदनशीलता बढ्ने भएकाले नेपाली प्रशासनले पनि नाकामा अस्थायी नियन्त्रणको अभ्यास गर्दै आएको छ ।
‘हामीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सशस्त्र आवागमन वा आपराधिक क्रियाकलाप रोक्नका लागि भारत–नेपाल प्रशासनबीच सहकार्य गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी भुसालले थपे, ‘निर्वाचन सकिएलगत्तै अवस्था सामान्य बनाइनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



