जनकपुरधाम, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय समितिमा पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने प्रस्ताव पेश गरेका हुन् ।

पदाधिकारी थप गर्दा दलित, महिला, मुस्लिम र खुला समूहका प्रतिनिधिहरूलाई प्राथमिकता दिइने अध्यक्ष यादवले जानकारी दिएका छन् । यस परिवर्तनपछि जसपा नेपालमा ६ उपाध्यक्ष, ३ महासचिव र ४२ कार्यकारिणी सदस्यीय संरचना हुने भएको छ ।

साथै, बैठकले संघीय संसदीय बोर्डको संरचना पनि तय गरेको छ । यस बोर्डमा केन्द्रीय समिति अध्यक्ष, सहअध्यक्ष, महासचिव, प्रदेश समिति अध्यक्ष र केही केन्द्रीय सदस्यहरू समावेश हुनेछन् । पार्टी नेतृत्वका अनुसार संघीय संसदीय बोर्डले संसदीय निर्णय र समन्वयमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

पार्टी स्रोतहरूले बताएअनुसार यस निर्णयले आन्तरिक संरचना मजबुत पार्ने र प्रतिनिधित्व विस्तार गर्ने उद्देश्य राखिएको छ ।