–ज्योति झा
जनकपुरधाम, १८ कार्तिक ।

गामके अधिकारी तोहे बड्का भैया हो
भैया हाथे दस पोखरी खुनाइ दिय
चम्पा फूल लगाई दिय हो

मिथिलाञ्चलमा जन्मदेखि मृत्युसम्म जीवनलाई धर्म, संस्कार र लोकपरम्पराले रंगीन बनाउँछ । यहाँका पर्व–त्योहारहरू गीतसंगीत, कला र लोकधाराहरूले समाजको सांस्कृतिक धरोहर झल्काउँछन् ।

प्रत्येक पर्वको आफ्नै विशेषता र उत्सवका आफ्नै रीतिरिवाज छन् । बच्चा जन्मेपछि गाइने सोहर, छोरीको विदाईमा गाइने समदाउ, भाईबहिनीको स्नेह र सौहार्दलाई उजागर गर्ने भाईटीका, रक्षाबन्धन, समाचकेवा आदिले यस क्षेत्रको सांस्कृतिक धरोहरलाई अझ जिवन्त राख्छ ।

यसैबीच, कार्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भाईबहिनीको अमर स्नेह र एक अर्काप्रतिको सुरक्षा, दीर्घायु, स्वास्थ्य र ऐश्वर्यको कामनामा समर्पित छ । यस पर्वमा दिदी बहिनीहरूले माटोका सामा, चकेवा, चुगला, भरिया, ढोलिया, खञ्जन चिडैया, मलिनियाँ, वृन्दावन जस्ता आकृतिहरू बनाई रङ्ग–रोगन गरेर सजाउँछन् । साँझतिर गाउँका आँगन र चौरमा गीतसंगीतसहित सामाचकेवालाई खेलाएर देखाउने चलनले मिथिला समाजको सौन्दर्य झल्काउँछ । सांस्कृतिक आख्यान अनुसार सामा–चकेवाको उत्पत्ति स्कन्दपुराणमा उल्लेख छ ।

स्कन्दपुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ । जसअनुसार सामा र चकेवा भाइ–बहिनी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए कि श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई उनलाई चरा बनाइदिए । भाइ शम्बलाई जब यो कुरा थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी सामाको पूर्वरूपमा पाए ।

त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । पर्वको विशेष आकर्षणमध्ये एक हो साँझतिर चौरमा सामा चकेवालाई दुबो, धान र शीत खुवाउने प्रचलन । यस क्रममा गाउँका महिला वृत्ताकार बसेर सामाचकेवा खेलाउने गीत गाउँछन् । विसर्जनको दिन बहिनीहरूले सामालाई च्युरा र दही खुवाइ प्रसादस्वरूप ग्रहण गराउँछन् । यो संस्कारले भाई बहिनीको प्रेम र सम्बन्धलाई वर्षेनि सुदृढ बनाउँछ ।

तर, आधुनिक समयले यस पर्वलाई पनि असर पारेको छ । पहिले दिदी बहिनीहरूले आफ्नै हातले माटोका सामाचकेवा बनाउँथे भने अहिले बजारमा रेडिमेड, प्लास्टिक वा फाइबरका मूर्तिहरू सजाएर प्रयोग हुने गरेको छ । पारम्परिक मैथिली लोकगीतहरू पनि मौखिक रूपमा पुस्तौँ पुस्ता हस्तान्तरण हुने सट्टा अब युट्युब, भिडियो र रेकर्डिङमा उपलब्ध छन् । यसले सांस्कृतिक संरक्षणमा मद्दत गरे पनि पूजा संस्कारको वास्तविकता हराउँदै देखाउने, केवल प्रदर्शन वा मनोरञ्जनको माध्यम बनाउने खतरासँग पनि जोडिएको छ ।

मिथिला संस्कृति, कला र लोकपर्वको संरक्षणका लागि संघसंस्थाहरू सक्रिय भए पनि वास्तविकता र नामका लागि काम गर्ने बीचको भिन्नता स्पष्ट छ । हाम्रो सांस्कृतिक धरोहर हामी सबैको जिम्मेवारी हो । आफ्नै हातले माटोका आकृतिहरू बनाउने, पारम्परिक गीतहरू गाउने र सन्ततिलाई सिकाउने कार्यले सांस्कृतिक आत्मालाई जिवित राख्छ ।

आज पनि कार्तिक मासमा दिदी बहिनीहरूले सामाचकेवा खेलाउँदै भाईको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन् । आधुनिकताको प्रभावले केही परम्परा विकृत भए पनि यस पर्वले भाई बहिनीको प्रेम र मिथिला संस्कृति दुवैको संरक्षण गर्ने अवसर दिन्छ ।