महाकविको जन्मभूमिदेखि कर्मभूमिसम्म

–दिनेशचन्द्र मिश्र ‘गोपाल’
महोत्तरी, १७ कार्तिक । विद्यापति मैथिली साहित्यका महाकवि हुन् । आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठूलो योगदान रहेको छ । मैथिली भाषा र साहित्यमा उनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्वीर अङ्कित गरेका छन् ।
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । प्रो.धीरेन्द्र, डम्बर नारायण यादव, पण्डित सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा देशको कुना काप्चामा सुरू भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
योगदानः–
विद्यापतिले सम्पूर्णजीवन साहित्यलाई अर्पित गरे । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे । भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गङ्गालाभका लागि प्रस्थान गरेका थिए । बिहार राज्यको वाजितपुरसम्म पुग्दा उनको शारीरिक शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए । त्यतिबेला उनले गरेको गङ्गाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हो ।
बड. सुखसार पाओल तुआ तीरे ।
छोड.इत निकट नयन बह नीरे ।।
भनिन्छ, उनको भक्तिपूर्ण वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म फर्केर गयो र गङ्गालाभ गर्दै उनले देहत्याग गरे । बिहार राज्यको वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ । जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उनको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ ।
कृतिहरूः–
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उनका रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य कीत्र्तिलता र कीत्र्तिपताका तथा संस्कृत–प्राकृत–मैथिलीमा गोरक्षविजय र संस्कृत–प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए । तीमध्ये शिक्षाप्रद रोचक कथा सङ्कलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृकत्य, व्याड. भक्तितरङ्गणि आदि अमर कृति छन् ।
यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक चित्रण पाइन्छ । कीत्र्तिलतालाई विद्यापतिको पहिलो रचना मानिन्छ । त्यतिखेर मिथिलाका विद्वान संस्कृतमा लेख्ने गर्थे । कीत्र्तिलतामा उनले मातृभाषामा लेख्ने कारण र यसको महत्त्व बताएका छन् । देसिल बअना सब जनमिठ्ठा, तैसन जम्पओ अबहठ्ठा । कीत्र्तिपताकामा मैथिली भाषामा प्रेमसम्बन्धी कमनीय कविता छन् । शैवर्सवस्वसारमा भवसिंहदेखि विश्वासदेवीसम्मका कीर्तिकथा विरुदावली शैलीमा वणिर्त छ । गङ्गावाक्यावली र दुर्गाभक्तितरङ्गिणी गंगा र शक्तिको उपासनामा विद्यापतिद्वारा रचित रचना सङ्ग्रह हुन् ।
विद्यापतिका पिता गणपति ठाकुर र माता गांगोदेवी थिए । मिथिलाको राजधानी ओइनी थियो । ओइनीमा राजकुमार शिवसिंह, कीर्तिसिंह तथा पद्मसिंहसँग उनको शिक्षादीक्षा भयो । त्यसपछि तत्कालीन उद्भट विद्वान हरिमिश्रको चौपाडीमा न्यायशास्त्र तथा धर्मशास्त्रको अध्ययन गरे ।
विद्यापति सरस, विनोदी र चतुर त थिए, आफ्नो सम्मोहक र उदात्त व्यक्तित्त्वका कारण राजा शिवसिंहले उनलाई राजपण्डित बनाए । विद्यापतिका शृङगार गीत रचना यसै अवधिमा भयो । दिल्लीका सुल्तान इब्राहिम शाहलाई राजस्व नबुझाएको कारण राजा शिवसिंहलाई सुल्तानले बन्दी बनाए । विद्यापतिले आफ्ना गीत सुनाई सुल्तानलाई मुग्ध पारी शिवसिंहलाई मुक्त गराएका थिए । १४०२ मा जलालुद्दीनले मिथिलामाथि आक्रमण गरे, तर उनी पराजित भएर फर्किनुपर्यो । त्यस युद्धमा कविकोकिलको भूमिकाबाट प्रभावित भई राजा शिवसिंहले त्यसलगत्तै राज्याभिषेकको अवसरमा उनलाई आफ्नो जन्मस्थली बिस्फी ग्राम दानस्वरूप प्रदान गरे ।
तीन–चार वर्षछि फेरि इब्राहिम शाहले मिथिलामाथि आक्रमण गरे । युद्धमा राजा शिवसिंह पराजित भए । विद्यापतिले रानीहरूसंगै जनकपुरधाम भन्दा ६ किलोमिटर दक्षिण बनौलीका राजा पुरादित्यको आश्रयमा जानुपर्यो । विद्यापतिका लागि त्यो अवधि कठिन र निराशाजनक थियो । त्यस प्रवासीय समयमा उनले शिवसिंहकी रानी लखिमाको आत्म विनोदार्थ राधाकृष्णको रासलीलायुक्त ज्ञान,वैराग्य र मोक्षदायक कथामृत पान गराउँदै तिरहुतालिपिमा मैथिली भागवत पोथी १२ वर्षको वाचन र लेखनबाट ल.सं.३०९ मा प्रणयन गरे । जुन पुस्तक कामेश्वरसिंह संस्कृत विश्वविद्यालयमा संरक्षित छदाँ इस्वी २१.११.१९९८ मा संस्कृतिकर्मी भगवान मिश्रले उक्त पोथीका केही पानाहरु विश्वविद्यालय प्रशासनबाट तिरहुतालिपिज्ञ प.शशिनाथ झाको करकमलबाट अनुवाद सहित प्रमाणित गराइ ल्याए । ती प्रमाणिक श्लोकहरु अध्ययनका लागि उनको निवासमा उपलब्ध रहेको छ । राजा पुरादित्यको राजधानी तथा शंकर किङ्कर विद्यापतिको गढको विकास संरक्षण ,सम्बद्र्धनमा अनवरत रुपमा कलम चलाउने आधुनिक लेखक, साहित्यकार, विचारकहरु प.अमृतनाथ मिश्र, डा.गोविन्द चौधरी, रामभरोस कापडि ‘भ्रमर’, भगवान मिश्र, कालीकान्त तृषित, रामनारायण देव, नारायण झा, धीरेन्द्र प्रेमर्षि, रमेश रन्जन, चन्द्रकिशोर, राधेश्याम झा, पुरातत्त्व विज्ञ गोपाल झा र सीमावर्ती विद्वानहरु कासिदका पूर्व कुलपतिद्वय डा.रामचन्द्र झा, डा. शशिनाथ झा, समालोचक चन्द्रेश, साहित्यकार चन्द्रमोहन ‘पडवा’ लगायत अवदानको फलस्वरूप संघीय तथा प्रादेशिक सरकारले बार्षिक कार्य योजनामा समावेश गर्न बाध्य भए ।
जयदेवलाई विद्यापतिको प्रेरणास्रोत मानिन्छ । उनलाई अभिनव जयदेव पनि भनिन्छ । निर्वासनकालमा उनका रचनामा शृङगारको स्थानमा भक्तिका धारा प्रवाहित हुन थाल्यो । उनले भगवान आशुतोषका लागि नचारीका रचनामा आफूलाई समर्पित गरे ।
विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका सम्पूर्ण गीतलाई दुई गोट धारामा विभाजित गर्न सकिन्छ, शृङगार र भक्ति । पहिलो धारामा राधाकृष्णका आराधनामा रचिएका गीत पर्छन् भने दोस्रो धारामा महादेव, देवी र गङ्गाका स्तुति । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । शक्तिको स्तुति गोसाउनी गीत मिथिलाका प्रत्येक पर्व वा कुनै शुभकार्य उपनयन, विवाह, मुण्डनका अवसरमा अनिवार्य रूपले गाइन्छ ।
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बङ्गालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउथेँ । फर्किंदा विद्यापतिका गीत–संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका साक्ष्य हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यलाई कर्णगोचर भयो, उनी भावविभोर भए । बङ्गाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्यो । वैष्णव कवि उनको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रित भए। परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उनका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसँग महर्षि अरविन्द पनि प्रभावित भए । डा. विनोदविहारी वर्माद्वारा लिखित ’महर्षि श्री अरोविन्दो अन विद्यापति’ निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै नभई युगका प्रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक–व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्यो । उनका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी वेदनाका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्णन गर्थे–
सरसिज विनु सर सरविनु सरसिज की सरसिज विनु सूरे
यौवन विनु तन तन विनु यौवन की यौवन पिय दूरे
सखी हे, मोर बड दैव विरोधी
मदन वेदन बड पिया मोर बोलछड
अबहु देकु परबोधी ।
त्यस्तै अर्को पद छ–
ए सखी रंगिनी कहल निसान
हेरइत पुन मोर शरल निसान
कवि विद्यापति एह रस भान
सुपुरुष परम तुहु भल जान
की लागि कौतुक देखलहु सखी
निमिष लोचन आध
मोर मन मृग परम बेधल
विषम बान बेआध ।
विद्यापतिका गीत गुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपूर्ण छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर–याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन सम्बन्धसँग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दाँते र बेलायतका चौसरजस्तो छ ।
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बसेका थिए । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद (भट्टाचार्य) शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उनी विद्यापतिबाट प्रभावित थिए । उनले लेखेका छन्, विद्यापतिके आमरा तीन मूर्तिते देखिते पाई । एक मूर्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्नर्गठने कृतसंकल्प । आर एक मूर्तिते देखि तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये–समये उच्छवासे गद्गद् होइते छेन । ताँहार आरओ एक मूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ताँहार इतिहासेर नाम मोने – ताँहार र्कीत्र्तिपताका ओ किर्त्र्तिलता त्यहाँको भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिएका थिए । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।
मैथिल कवि कोकिल, रसासिद्ध कवि विद्यापति, तुलसी, सूर, कबूर, मीरा सबै भन्दा अगाडिका कवि हुन् । यिनीहरूको संस्कृत, प्राकृत अपभ्रंश एवं मातृ भाषा मैथिलीमा समान अधिकार थियो । विद्यापतिको रचनाहरू संस्कृत, अवहट्ट, एवं मैथिली तिनैवटा भाषामा पाइन्छ ।
मैथिली साहित्यमा चौधौँ शताब्दीको संघर्षपूर्ण वातावरणमा जन्मेका प्रतिनिधि पात्र हुन् विद्यापति ठाकुर । बहुमुखी प्रतिमा–सम्पन्न यी महाकविको व्यक्तित्वमा एक चिन्तक, एक शास्त्रार्थकार तथा एक साहित्य रसिकको अद्भुत समन्वय थियो । संस्कृतमा रचित यिनको पुरुष परीक्षा, भू–परिक्रमा, लेखनवली, शैवसर्वश्वसार, शैवसर्वश्वसार प्रमाणभूत पुराण–सङ्ग्रह, गङ्गावाक्यावली, विभागसार, दानवाक्यावली, दुर्गाभक्तितरङ्गिणी, गयापतालक एवं वर्षकृत्य,भागवत, आदि ग्रन्थ छन् ।
एकातिर यिनको गहन पाण्डित्य सँग यिनको युगद्रष्टा एवं युगस्रष्टा स्वरूपको साक्षी छ । दोस्रोतर्फ कीर्तिलता, भाषामा सम्यक ज्ञानको सूचक हुनुका साथसाथै ऐतिहासिक साहित्यिक एवं भाषा सम्बन्धी महत्त्व राख्ने आधुनिक भारतीय आर्य भाषाको अनुपम ग्रन्थ छ । तर, विद्यापतिको अक्षम कीर्तिको आधार हो मैथिली पदावली, जसमा राधा एवं कृष्णको प्रेम प्रसँग सर्वप्रथम उत्तरभारतमा गेय पदको रूपमा प्रकाशित छ । यिनको पदावली मिथिलाका कविहरूको आदर्श त हो नै, नेपालका शासक, सामन्त, कवि एवं नाटककार पनि उनकै आदर्शबाट मैथिलीमा रचना गराउन अभिप्रेरित हुन थालेका हुन् । त्यस पछि बङ्गाल, असम तथा उडीसाको वैष्णभक्तहरूमा पनि नवीन प्रेरणा एवं नव भावधाराका साथ विद्यापतिको शैलीमा नै पदावलियहरूको रचना गर्न सुरू भयो । कवि कोकिलको कोमलकान्त पदावलीले वैयक्तिकता, भावात्मकता, संश्रिप्तता, भावाभिव्यक्तिगत स्वाभाविकता, संगीतात्मकता तथा भाषाको सुकुमारता एवं सरलता कायम राख्ने निर्देशन प्रस्तुत गर्छ । वण्र्य विषयको दृष्टिले यिनको पदावली यदि एक तर्फबाट इनको रससिद्ध, शिष्ट एवं मर्यादित श्रृंगारी कविको रूपमा प्रेमोपासक, सौन्दर्य पारसी तथा पाठकको हृदयलाई आनन्द विभोर गर्ने माधुर्यलाई स्रष्टा, सिद्धहस्त कलाकार सिद्ध गर्छ त दोस्रोतर्फ यिनलाई भक्त कविको रूपमा शास्रीय मार्ग एवं लोकमार्ग दुवैमा सामंजस्य उपस्थित गर्ने धर्म एवं इष्टदेवको प्रति कविको समन्वयात्मक दृष्टिकोणको परिचय दिने एक विशिष्ट भक्त हृदयको चित्र उपस्थित गर्छ ।
साथसाथै लोकाचार सँग सम्बद्ध व्यावहारिक पद प्रणेताको रूपमा यिनलाई मिथिलाको सांस्कृतिक जीवनको कुशल अध्येता मान्न सकिन्छ । यति मात्र हैन, यो पदावली यिनको जीवन्त व्यक्तित्वले भोगेको अनुभूतिको साक्षी बनेर समाजको तात्कालीन कुरीति, आर्थिक वैषम्य, लौकिक अन्धविश्वास, भूत–प्रेत जादू–टूना, आदिको उद्घाटक पनि भएको देखिन्छ । यसको अलावा यस पदावलीको भाषा–सौष्ठव, सुललित पदविन्यास, हृदयग्राही रसात्मकता, प्रभावशाली अलंकार, योजना, सुकुमार भाव व्यंजना एवं सुमधुर संगीत आदि विशेषताले यसलाई एक उत्तमोत्तम काव्यकृतिको रूपमा पनि प्रतिष्ठित गरेको छ । हुनत यो पनि एक महत्त्वपूर्ण तथ्य छ कि महाकवि विद्यापति आफ्नो अमर पदावलीको रचनाको लागि आफ्नो पूर्ववर्ती संस्कृत कविहरू खासगरी भारवी, कालिदास, जयदेव, हर्ष अमरुक, गोवद्र्धनाचार्य आदि भन्दा कम ऋृणी छैनन् । किनकी जस विषयहरूलाई महाकविले आफ्नो पदावलीमा प्रस्तुत गरे त्यो विषय पूर्व देखि नै संस्कृतको कविहरूको रचनाहरूमा प्रस्तुत भैसकेको थियो । विद्यापतिको मौलिकता यसमा निहित छ । यिनले ती रचनाहरूको विषयमा अलंकार परिवेश आदिको अन्धानुकरण नगरेर त्यसमा आफ्नो दीर्घ जीवनको महत्त्वपूर्ण एवं मार्मिक अनुभव एवं आस्थाको अनुस्यूत गरेर अप्रतिम माधुर्य एवं असीम प्राणवत्ता युक्त मातृभाषामा प्रस्तुत गरे । यही कारण हो कि महाकविको काव्य प्रतिमाको गुञ्ज मात्र मिथिलाञ्चल भर मात्र हैन अपितु समस्त भारतवर्षमा र अहिले विश्वमा व्याप्त छ । राजमहल देखि लिएर पर्णकुटी सम्ममा गुंजायमान विद्यापतिको कोमलकान्त पदावली वस्तुतः भारतीय साहित्यको अनुपम वैभव हो ।
विद्यापतिको प्रसंगमा स्वर्गीय डा. शैलेन्द्र मोहन झाको उक्ति वस्तुतः शतप्रतिशत यथार्थ छ । उनी लेख्छन्, ‘नेपालक पार्वत्य नीड रटओ अथवा कामरूपक वनवीचिका, बङ्गालक शस्य श्यामला भूमि रहओ अथवा उतकलक नारिकेर निकुंज, विद्यापतिक स्वर सर्वत्र समान रूपसँ गुंजित होइत रहैत छनि । हिनक ई अमर पदावली जहिना ललनाक लज्जावृत कंठ सँ, तहिना संगीतज्ञक साधित स्वरसँ, राजनर्तकीक हाव–भाव विलासमय दृष्टि निक्षेपसँ, भक्त मंडलीक कीर्तन नर्तनसँ, वैष्णव–वैश्णवीक एकताराक झंकारसँ निःसृत होइत युग–युगसँ श्रोतागणकें रस तृप्त करैत रहल अछि एवं करत । मिथिला मैथिलक जातीय एवं सांस्कृतिक गरिमाक मान–बिन्दु एवं साहित्यिक जागरणक प्रतीक चिन्हक रूप में आराध्य एवं आराधित महाकवि विद्यापतिक रचना जरिना मध्यकालीन मैथिली साहित्यिक अनुपम निधि आछि तहिना मध्यकाल में रचित समस्त मैथिली साहित्य सेहो हिनके प्रभावक एकान्त प्रतिफल अछि ।’
महाकवि विद्यापतिको जन्म वर्तमान भारतको मधुबनी जनपदको बिसपिनामक गाउँमा एक सभ्रान्त मैथिल ब्राह्मण गणपति ठाकुर (उनका पिताको नाम)को घरमा भएको थियो । यसस्वी राजा शिवसिंहले यो गाउँ विद्यापतिलाई दानस्वरूप दिएका थिए । यस दानपत्रको प्रतिलिपि आज पनि विद्यापतिको वंशजहरूसँग छ जो अहिले सौराठ नामक गाउँमा बसोबास गर्छन् । उपलब्ध दस्तावेजबाट यो स्पष्ट हुन्छ कि महाकवि अभिनव जयदेव विद्यापतिको जन्म यस्तो यशस्वी मैथिल ब्राह्मण परिवारमा भएको थियो, जसमा विद्याको देवी सरस्वतीसँग लक्ष्मीको पनि असीम कृपा थियो । यस विख्यात वंशमा (विषयवार विसपी) एक–से–एक विद्धान्, शास्रज्ञ, धर्मशास्री एवं राजनीतिज्ञ भए । महाकविको जिज्यू बराजू देवादित्य कर्णाटवंशीय राजाहरूको सन्धि, विग्रहक थिए तथा देवादिव्यको सात पुत्रहरू मध्ये धीरेश्वर, गणेश्वर, वीरेश्वर आदि महराज हरिसिंहदेवको मन्त्रिपरिषद्मा थिए । यिनका बाजे जयदत्त ठाकुर एवं बाबू गणपति ठाकुर राजपण्डित थिए । त्यसैले पाण्डित्य एवं शास्रज्ञान कवि विद्यापतिलाई पुख्र्यौली उत्तराधिकारमा प्राप्त भएको थियो । अनेक शास्रीय विषयहरूमा कालजयी रचनाको निर्माण गरेर विद्यापतिले आफ्नो पूर्वजहरूको परम्परा नै अगाडि बढाए ।
महाकवि कोकिल विद्यापति ठाकुरको जन्म कहिले भएको थियो भन्ने लिखित प्रमाण फेला पर्न सकेको छैन । यद्यपि महाकविको एक पदबाट स्पष्ट हुन्छ कि लक्ष्मण–संवत् २९३, शाके १३२४ अर्थात् सन् १४०२ ई.मा देवसिंहको मृत्यु भयो र राजा शिवसिंह मिथिला नरेश बने । मिथिलामा प्रचलित किंवदन्तिको अनुसार त्यस समय राजा शिवसिंहको उमेर ५० वर्ष भएको थियो र कवि विद्यापति उनीभन्दा दुई वर्ष ठूला, अर्थात् ५२ वर्षका थिए ।
यसप्रकार १३५० ई. सन्लाई विद्यापतिको जन्मतिथि मान्न सकिन्छ । लक्ष्मण–संवत्को प्रवत्र्तन तिथिको सम्बन्धमा विवाद छ । केही मान्छेले सन् ११०९ ई. देखि, त कसैले १११९ ई. देखि यसको प्रारम्भ भनेका छन् । स्व. नगेन्द्रनाथ गुप्तले लक्ष्मण–संवत् २९३को १४१२ ई. मानेर विद्यापतिको जन्मतिथि १३६० ई. लाई मानिएको छ । ग्रियर्सन र महामहोपाध्याय उमेश मिश्रको पनि यही मान्यता हो । तर, श्रीब्रजनन्दन सहाय ब्रजवल्लभ, श्रीराम वृक्ष बेनीपुरी, ड. सुभद्र झा आदि सन् १३५० ई.लाई उनको जन्मतिथिको वर्ष मानछन् । डा. शिवप्रसादको अनुसार विद्यापतिको जन्म सन् १३७४ ई.को नजीकै भएको बुझिन्छ । यो निश्चिततापूर्वक जानिँदैन कि विद्यापतिको जन्म कहिले भएको थियो र उनी कति दिन जीवित रहे । उनी सन् १३८० ई.को नजीकै उनको जन्मतिथि मान्छन् ।
हुनत जनश्रुति यो पनि छ कि विद्यापति राजा शिवसिंह भन्दा धेरै कान्छा थिए । एक किंवदन्तीको अनुसार बालक विद्यापति बाल्यकाल देखि नै तीव्र र कवि स्वभावका थिए । उनी आठ वर्षको हुँदा एक दिन आफ्नो पिता गणपति ठाकुरसँग शिवसिंहको राजदरबारमा पुगे । राजा शिवसिंहले भनेपछि यिनले निम्नलिखित पंक्तिहरूको रचना गरेः
पोखरि रजोखरि अरु सबै पोखरा ।
राजा शिवसिंह अरु सबै छोकरा ।
महाकविको बाल्यावस्थाको बारेमा अहिलेसम्म कसैले प्रकाश पारेको छैन । विद्यापतिले प्रसिद्ध हरिमिश्रबाट विद्या ग्रहण गरेका थिए । विख्यात नैयायिक जयदेव मिश्र उर्फ पक्षधर मिश्र यिनका सहपाठी थिए ।
महाकवि आफ्नो पिता गणपति ठाकुरसँग बाल्यकालले नै राजदरबारमा जाने गर्थे । चौधौँ शताब्दीको शेषार्ध मिथिलाको लागि अशान्ति र कलहको काल थियो । राजा गणेश्वरको हत्या असलान नामक यवन–सरदारले गरेर दिएको थियो । कविको समवयस्क एवं राजा गणेश्वरको पुत्र कीर्तिसिंह आफ्नो गुमेको राज्यको प्राप्ति तथा पिताको हत्याको बदला लिन प्रयत्नशील थिए । संभवतः त्यहि समयमा महाकविले नसरत शाह र गयासुद्दीन शाह जस्ता महापुरुषहरूको लागि केही पद्य रचना गरे । राजा शिवसिंह विद्यापतिको बालसखा र मित्र थिए । अतः उनको शासनकालको चार वर्ष महाकविको जीवनको सबै भन्दा सुखद समय थियो । राजा शिवसिंहले उनलाई यथेष्ठ सम्मान दिए । बिसपी गाउँ उनलाई दानमा पारितोषिकको रूपमा दिए तथा ’अभिनवजयदेव’को उपाधि दिए । कृतज्ञ महाकविले पनि आफ्नो गीतद्वारा आफ्नो अभिन्न मित्र एवं आश्रयदाता राजा शिवसिंह एवं उनकी पत्नी रानी लखिमा देवी (लखिमादेवी)लाई अमर गरे । लगभग २५० गीतहरूमा शिवसिंहको महिमा पाइन्छ ।
दुर्भाग्यवशः छोटो समयमा नै पुनः मिथिलामा दुर्दैवको भयानक कोप भयो । यवनहरूको आसन्न आक्रमणको आभाष पाएर राजा शिवसिंहले विद्यापतिको संरक्षणमा आफ्नो परिजनहरूलाई नेपाल–तराई–स्थित द्रोणवारको अधिपति पुरादित्यको आश्रममा रजाबनौली पठाइदिए । युद्ध क्षेत्रमा सम्भवतः शिवसिंह मारिए । विद्यापति लगभग १२ वर्षसम्म नेपाल बसे । त्यहीं यिनले लेखनवलीको रचनाको त्यस समयको एक पदबाट ज्ञात हुन्छ कि शिवसिंहको अन्त्यले यिनी असाध्यै दुखी भएका थिए । शिवसिंहको भाइ पद्मसिंहलाई राज्याधिकार मिलेपछि औइनवार–वंशीय राजाहरूको आश्रय पुनः महाकविलाई प्राप्त भयो र उनी मिथिला फर्किए । पद्मसिंहको केवल एक वर्षको शासन पछि उनकी धर्मपत्नी विश्वासदेवी मिथिलाको राजसिंहासनमा बसिन्, जसको आदेशबाट विद्यापतिले दुई महत्त्वपूर्ण ग्रन्थः शैवसर्वस्वसार तथा गङ्गावाक्यावली लेखे । विश्वासदेवी पछि राजा नरसिंहदेव ’दपंनारायण’, महारानी धीरमती, महाराज धीरसिंह ’हृदयनारायण’, महाराज भैरवसिंह ’हरिनारायण’ तथा चन्द्रसिंह ’रूपनारायण’को शासनकालमा महाकविलाई लगातार राज्याश्रय प्राप्त भइरहेको थियो ।
विद्यापति ठाकुरको मृत्युको सम्बन्धमा पनि विद्वानहरूमा मतभेद छ । यति स्पष्ट छ र जनश्रुतिका अनुसार आधुनिक बेगूसराय जिल्लाको मउबाजिदपुर (विद्यापतिनगर)को नजीकै गङ्गातटमा महाकविले प्राण त्याग गरेका थिए । उनको मृत्युको सम्बन्धमा यो पद जनसाधारणमा आज पनि प्रचलित छः
’विद्यापतिक आयु अवसान
कातिक धवल त्रयोदसि जान ।’
यहाँ एक कुरा स्पषट गर्न अनिवार्य छ । विद्यापति शिव एवं शक्ति दुवैको प्रबल भक्त थिए । शक्तिको रूपमा उनले दुर्गा, काली, भैरवि, गंगा, गौरी आदिको वर्णन आफ्नो रचनाहरूमा यथेष्ठ गरेको छ । मिथिलाका मानिसहरूमा यो कुरा आज पनि व्याप्त छ कि जब महाकवि विद्यापति बुढो भए, उनले र आफ्नो पुत्रहरू र परिजनहरूलाई बोलाएर यो आदेश दिएः ‘अब म यो शरीर त्याग चाहन्छु । गङ्गाको किनारमा गङ्गाजलको स्पर्श गर्दै अन्तिम श्वास लिने मेरो इच्छा छ । तसर्थ तिमीहरूले मलाई गङ्गालाभ गराउने तैयारीमा लैजाऊ । कहरियालाई बोलाएर त्यसमा बसाएर आज नै मलाई सिमरिया घाट (गङ्गातट)लैजाऊ ।’
महाकविको आज्ञा पालन गर्दै चार कहरियहरूलाई बोलाएर उनको जीर्ण शरीरको पालकीमा सुताएर सिमरिया घाट गङ्गालाभ गराउनको लागि हिँडे । उनको पछिपछि साथीभाई र आफन्तहरू थिए ।
रातभर हिँडेपछि जब सूर्योदय भयो विद्यापतिले सोधेः ‘अब गंगा पुग्न कति टाढा छ?’ ठाकुरजी, करीब पौने दुइ कोस ।’ कहरियाले जवाफ दिए । आत्मविश्वासले भरिएका महाकवि एकाएक बोले पालकी यहीँ रोक, गङ्गाजी यहीँ आउनुहुन्छ । ठाकुरजी, यस्तो संभव छैन । गंगा यहाँदेखि पौने दुइ कोसको दूरीमा बगिरहेकी छन् । यहाँ कसरि आउछिन्? तपाईँ थोरै धैर्य राख्नुहोस् । एक घन्टाभित्र हामी सिमरिया घाट पुग्नेछौं । उनीहरूले भने । हैन हैन, पालकी रोक महाकविले भने हामीलाई अगाडि बढ्न आवश्यक छैन । गङ्गाजी यहीँ आउँछिन् ।
यदि एक छोरा जीवनको अन्तिम क्षणमा आफ्नो आमाको दर्शनको लागि जीर्ण शरीरलाई लिएर यति टाढा देखि आइरहेको छ भने के गंगा आमा पौने दुई कोस पनि आफ्नो छोरालाई भेट्न आउन सक्दिनन? गंगा आउँछिन् । जरूर आउँछिन् । यति भनेर महाकवि ध्यानमुद्रामा बसे । पन्द्र–बीस मिनेटमा गंगा आफ्नो उर्लँदो धाराको प्रवाह संगै त्यहाँ पुगिन् । सबैजना आश्चर्यमा थिए । महाकविले सर्वप्रथम गङ्गालाई दुवै हात जोडेर प्रणाम गरे, अनि जलमा प्रवेश गरेर निम्नलिखित गीतको रचना गरे ।
बड सुखसार पाओल तुअ तीरे ।
छोडइत निकट नयन बह नीरे ।।
करनोरि बिलमओ बिमल तरङ्गे ।
पुनि दरसन होए पुनमति गंगे ।।
एक अपराध घमब मोर जानी ।
परमल माए पाए तुम पानी ।।
कि करब जप–तप जोग–धेआने ।
जनम कृतारथ एकहि सनाने ।।
भनई विद्यापति समदजों तोही ।
अन्तकाल जनु बिसरह मोही ।।
यस गंगा स्तुतिको अर्थ यसरी लगाउन सकिन्छः ‘हे आमा पतित पावनि गंगे, तिम्रो तटमा बसेर मैले संसारको अपूर्व सुख प्राप्त गरें । तिम्रो सामीप्य छोड्दै गरेका मेरा आँखाबाट आँसू बगिरहेको छ । निर्मल तरङ्ग भएकी पूज्यमती गंगे ! म हात जोरेर विन्ती गर्छु कि फेरी तिम्रो दर्शन पाइयोस् ।’
विद्यापतिले आफ्नी छोरीलाई सम्बोधित गर्दै गंगा नदीको तटमा एउटा अझै अर्को महत्त्वपूर्ण गीतको रचना गरे ।
दुल्लहि तोर कतय छथि माय ।
कहुँन ओ आबथु एखन नहाय ।।
वृथा बुझथु संसार–विलास ।
पल–पल नाना भौतिक त्रास ।।
माए–बाप जजों सद्गति पाब ।
सन्नति काँ अनुपम सुख आब ।।
विद्यापतिक आयु अवसान ।
कार्तिक धबल त्रयोदसि जान ।।
यसको सारांश यो हो कि महाकवि वयोवद्ध भैसकेका छन् । आफ्नो जीवनको अन्त्य नजिक देखेर यस नश्वर शरीर त्याग गर्नका लागि पवित्र तटमा आफ्नो सखा–सम्बन्धि सँग पुगेका छन् । पूज्यशलीला आमा गंगा आफ्नो यस महान यशस्वी पुत्रलाई आफूमा समेट्नका लागि प्रस्तुत भएकी छिन् । त्यहि क्षण महाकवि विद्यापति आफ्नी एकमात्र पुत्रीलाई सम्बोधित गर्दै भन्छन्, अही दुलारि, तिम्री आमा कहाँ छ ।? उनलाई अब चाडै स्नान गरेर आऊ भन । ढिलो गरेर के हुनेछ? यस संसारको भोग–विलास आदिलाई व्यर्थ बुझ्नुहोस् । यहाँ पल–पल नाना प्रकारको भय, कष्ट आदिको आगमन भइ रहन्छ । यदि माता–पितालाई सद्गति प्राप्त भएमा उनको कुल र परिवारको मान्छेलाई अनुपम सुख प्राप्त हुनुपर्छ । के तिम्री आमा जान्दिनन् कि आज जति पवित्र कार्तिक युक्त त्रयोदशी तिथि हो । अब मेरो जीवनको अन्त निश्चित छ । यस तरिकाबाट गङ्गाप्रति महाकविले आफ्नो अटूट श्रद्धा देखाएर उनले जीवनको अन्तिम सांस इच्छानुसार गङ्गाको किनारामा लिए ।
नगेन्द्रनाथ गुप्त सन् १४४० ई. लाई महाकविको मृत्यु वर्ष मान्छन् । म.म. उमेश मिश्रको अनुसार सन् १४६६ ई. पछिसम्म पनि विद्यापति जीवित थिए । डा. सुभद्र झाका अनुसार विश्वस्त अभिलेखहरूको आधारमा हामी यो भन्ने स्थितिमा छौं कि हाम्रो कविको मृत्यु १३५२ ई. र १४४८ ई.को मध्यमा भएको छ । सन् १४४८ ई. पछिको व्यक्तिहरूसँग जुन विद्यापतिको समसामयिकताको जोड दिइन्छ त्यो सर्वथा भ्रामक छन् । डा. विमानबिहारी मजुमदार सन् १४६० ई. पछि महाकविको विरोधाकाल मानछन् । डा. शिवप्रसाद सिंह विद्यापतिको मृत्युकाल १४४७ लाई मान्छन् ।
महाकवि विद्यापति ठाकुरको पारिवारिक जीवनको कुनै स्वलिखित प्रमाण छैन । किन्तु मिथिलाको उतेढपोथीबाट ज्ञात हुन्छ कि यिनको दुई विवाह भएका थिए । प्रथम पत्नीबाट नरपति र हरपति नामक दुई पुत्र भएका थिए र दोस्रो पत्नीबाट एक पुत्र वाचस्पति ठाकुर तथा एक पुत्रीको जन्म भएको थियो । सम्भवतः महाकविको यीनै पुत्रीको नाम ‘दुल्लहि’ थियो जसलाई मृत्युकालमा रचित एक गीतमा महाकवि अमर गरेर गएका छन् । कालान्तरमा विद्यापतिको वंशज कुनै कारणवश (शायद छिमेकीको उपद्रवदेखि दिक्क भएर) विसपी त्याग गरी सदाको लागि सौराठ गाउँ (मधुबनी जिल्लामा स्थित समागाछीको लागि प्रसिद्ध गाउँ) आएर बसे । आज महाकविको सबै वंशज त्यहि गाउँमा निवास गर्छन् ।

