जनकपुरधाम, १२ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–२० अन्तर्गत देवपुरा निमचोकदेखि जलाधी नदी ब्यारेज हुँदै श्मशानघाटसम्मको सडक जिर्ण भएपछि सो सडक पुनर्निर्माणको तयारी सुरु भएको छ ।

सडकको दयनीय अवस्थाका कारण स्थानीयवासीलाई वर्षौंदेखि आवतजावतमा समस्या हुँदै आएको अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बुधबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणपछि मेयर साहले उक्त बाटोलाई स्थानीयको सहभागितामा पुनर्निर्माण गरिने जानकारी दिए । उनले भने, ‘यो बाटो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित छ । स्थानीय बासिन्दा र उपमहानगरपालिकाको साझेदारीमा शीघ्र निर्माण कार्य सुरु गरिनेछ ।’

उक्त सडक जलाधी नदी ब्यारेज र श्मशानघाटसम्म पुग्ने मुख्य मार्ग भएकाले धार्मिक र सामाजिक दृष्टिले समेत यसको महत्व रहेको मेयर साहले बताए ।

निरीक्षण टोलीले बाटोको नाप–नक्सा छुट्याई, मर्मत र पक्कीकरणका सम्भावित उपायहरूमा छलफल गरेको छ । स्थानीय बासिन्दाले पनि सडक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्र नै सो सडकको पुनर्निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ ।