सिरहा, १२ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशभर मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् ।

उनले अब देशको नीति युवाको सोच र आकांक्षाअनुसार बन्नुपर्ने समय आएको बताएका हुन् ।

मन्त्री गुप्ताले शिक्षा, स्वास्थ्यदेखि खेलकुदसम्मका सबै क्षेत्रमा नीतिगत भ्रष्टाचार जरा गाडेर बसेको उल्लेख गरे । ‘देशमा विकास नहुनुको मूल कारण यही नीतिगत भ्रष्टाचार हो,’ गुप्ताले भने, ‘यही अन्याय र असमानताविरुद्ध युवाले आवाज उठाए र जेनजी आन्दोलन जन्मियो ।’

उनले जेनजी आन्दोलनलाई भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनका रूपमा व्याख्या गर्दै भने, ‘यो आन्दोलनले युवाको चाहना स्पष्ट रूपमा देखाएको छ । अब सरकारले युवाको सोचअनुसार नीति बनाउनैपर्छ ।’

गृहजिल्ला सिरहा आइपुगेका मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी शहीद विजय चौधरीको परिवारसँग पनि भेटघाट गरे । सो अवसरमा उनले शहीदका परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र शहीदका सपना पूरा गर्ने दिशामा आफू प्रतिबद्ध रहेको बताए ।