सिरहा, १२ कार्तिक । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशभर खेलकुद प्रयोजनका जग्गा खोजी गरेर खेलकुद संरचना व्यवस्थित गर्ने अभियान सुरु भएको बताएका छन् ।

गृहनगर लहान आइपुगेका मन्त्री गुप्ताले लहान जेनजी समूहद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै खेलकुद क्षेत्रका अनियमितताविरुद्ध कडाइका साथ कदम चालिने चेतावनी दिएका हुन् ।

मन्त्री गुप्ताले बताए अनुसार मन्त्रालयसँग देशभर पर्याप्त जग्गा भए पनि ती खेलकुद प्रयोजनका लागि प्रयोगमा नआएको पाइएको छ । ‘मन्त्री भएपछि सचिवसँग खेलकुदको अवस्था बुझ्दा मन्त्रालयसँग जग्गा त धेरै रहेछ । तर, प्रयोगमा छैनन्,’ गुप्ताले भने, ‘त्यसैले अहिले हामी ती जग्गाको खोजीमा लागेका छौं ।’

जग्गा खोजी अभियानको शुरुवात गृह जिल्ला सिरहाबाट नै भएको मन्त्री गुप्ताले जानकारी दिएका छन् । उनका अनुसार लहान–३ बलान नदीको पश्चिम किनारमा रहेको सात बिघा पाँच कठ्ठा १७ धुर जग्गा पाँच वर्षका लागि चिनियाँ कम्पनीलाई न्यून मूल्यमा लिजमा दिइएको र त्यसबाट प्राप्त रकमसमेत खेलकुद परिषद् सिराहामा नआएको पाइएको छ ।

‘यत्रो जग्गा सस्तो मूल्यमा लिजमा दिइनु र रकममा अनियमितता हुनु गम्भीर विषय हो,’ मन्त्री गुप्ताले भने, ‘यसको छानबिनका लागि कार्य अघि बढाइसकिएको छ । दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

देशभरका युवाहरूले खेलकुद मन्त्रालयसँग ठूलो अपेक्षा राखेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । ‘म मन्त्री बनेपछि गृह गाउँ आउँदा खेलकुदको जग्गामा नै अनियमितता देखियो,’ उनले भने, ‘यो समस्या देशभर भेटिएको छ । त्यसैले लहानबाट खोजी अभियान सुरु भइसकेको छ ।’

यसैबीच जिल्ला खेलकुद परिषद् सिरहाका प्रमुख विनोद सिंहले सो जग्गा चिनियाँ कम्पनीलाई पाँच वर्षका लागि चार लाखमा लिजमा दिइएको स्वीकार गरेका छन् । उनले भने, ‘म आएको डेढ महिना मात्रै भएको छ । बुझ्दा थाहा भयो, उक्त जग्गामा पर्खाल लगाउने र कभर्डहलभित्र पार्किङ बनाइदिने शर्तमा लिजमा दिइएको रहेछ । मन्त्रीज्यूले पनि यसबारेमा ताकेदा गर्नुभएको छ, त्यसैले हामी विस्तृत खोजीमा लागेका छौं ।’

कार्यक्रममा लहान जेनजी समूहले मन्त्री गुप्तालाई ध्यानाकर्षण पत्र बुझाउँदै लहानका सरकारी कार्यालयहरूमा भइरहेको भ्रष्टाचार नियन्त्रण, जेनजी आन्दोलनका माग सम्बोधन, लहान–३ स्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा रोकिएको फाइल अघि बढाउने र हुलाकी मार्गको पुल निर्माणमा देखिएको अनियमितता छानबिन गरी कार्य अघि बढाउन माग गरेको थियो ।