पर्सा, १२ कार्तिक । देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ अर्ब २३ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको असोजसम्म वीरगञ्ज नाका हुँदै आयात हुने वस्तु तथा सामानमा वृद्धि देखिएको छ ।

‘तीन महिनाको अवधिमा वीरगञ्ज भन्सारमार्फत दुई खर्ब १८ अर्ब १० करोड मूल्यका सामान भित्रिँदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ,’ ज्ञवालीले भने ।

गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य बराबरका सामान वीरगञ्ज भन्सारमार्फत भित्रिएका थिए ।

भन्सार कार्यालयका अनुसार आयातसँगै निर्यातमा पनि यस अवधिमा उल्लेखनीय वृद्धि भएको छ । चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा पठाइएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा निर्यातको मात्रा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको मात्र रहेको थियो । रकमका हिसाबले चालु वर्षको पहिलो तीन महिनामा निर्यात १७ अर्ब ७५ करोडले बढेको भन्सार कार्यालयले जनाएको छ ।

व्यापारिक गतिविधि बढेसँगै वीरगञ्ज भन्सारले राजस्व सङ्कलनमा पनि सकारात्मक सुधार देखिएको जनाएको छ ।